शान्ति सम्झौताका ११ वर्ष : सपनामय युग

काठमाडौँ, ६ मंसिर । केही दिनअघि चुनाव प्रचारका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्व. कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने प्रतिबद्धता जनाए । तर, उनको सो भाषणलाई धेरैले उडाए । हुन त दाहालले कोइरालालाई केन्द्रमा राखेर भाषण गरेको यो पहिलो पटक होइन । शान्ति सम्झौतामा हस्ताक्षर गरेको नाताले आफूहरू अर्थात् कोइराला र दाहाल पछिल्लो राजनीति कालखण्डमा मुख्य पात्रका रूपमा प्रस्तुत गर्दै आएका छन् ।
शान्ति-सम्झौतामा कोइराला र दाहालले हस्ताक्षर गरेका थिए । जसको जगमा संविधानसभा निर्वाचनपछि नयाँ संविधान जारी भएको छ । अहिले निर्वाचनमार्फत नयाँ संविधान कार्यान्वयनको प्रयास भइरहेको छ । शान्ति सम्झौता गरेको मंगलबार ११ वर्ष पूरा भएको छ । ५ मंसिर ०६३ को साँझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनाको व्यापक उपस्थितिमा तत्कालीन विद्रोही माओवादीले काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त प्रक्रियाका लागि निकै मिहिनेत गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला त्यो क्षण सम्झेर सपनाझैं लाग्ने बताउँछन् । सिटौला मात्रै होइन, युवापुस्तादेखि वृद्धसम्मलाई ११ वर्षअघिको हिंसात्मक माओवादी जनयुद्ध सपनाझैं लाग्छ ।
राजनीतिक रूपमा पूर्ण सकारात्मक वातावरण नबने पनि नेपाली ११ वर्षअघि जस्तो अशान्त र त्रासमा छैनन् । शान्तिप्रक्रियालाई नजिकबाट नियालेका सुरक्षा विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘नेपालको शान्ति प्रक्रिया आंशिक सफल मात्रै भएको । विद्रोही सेना र हतियार व्यवस्थापन भएको छ । तर, संक्रमणकालीन न्यायको पक्षमा ठोस काम सुरु हुन सकेको छैन ।’अन्नपूर्णपोष्टमा खबर छ ।

.