‘वैदेशिक रोजगारले पारिवारिक विचलन’

चितवन, ६ मंसिर ।  वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको पारीवारिक विचलन आएको सरोकारवालाहरुले बताएका छन् । कुनै पनि परिवारका सदस्यहरु वैदेशिक रोजगारमा गएपछि उनीहरुको परीवारमा विभिन्न समस्या आउने गरेका आप्रवासी कामदारहरुको न्यायमा पहुँच सम्बद्र्धन परियोजनाको बैठकमा सहभागीहरुले बताएका नमस्ते बिहानी साप्ताहिकमा खबर छ । ।
मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले आयोजना गरेको जिल्लामा रहेका सरोकारवालासँग समन्वयात्मक बैठकका क्रममा चितवन जिल्ला अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष चुडामणि सापकोटाले वैदेशिक रोजगारमा जाने व्यक्तिको पारीवारिक बिचलन आउँदा अदालतमा धेरै मुद्दाहरु पर्ने गरेको बताए । वैदेशिक रोजगारले सामाजिक विकृतिहरु निम्त्याएको, विदेशमा जाने व्यक्तिहरु ठगिने गरेकोले वैदेशिक रोजगारलाई सुरक्षित बनाउनुपर्ने सापकोटाको भनाइ छ । पिपुल फोरमका नरेन्द्र प्रकाश खनालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई आफ्नो संस्थाले परामर्श दिदै आएको बताए ।
परामर्शको क्षेत्र व्यापक बनाउँदै चितवनका प्रत्येक स्थानीय तहमा कार्यक्रम पु¥याइने खनालको भनाइ थियो । वैदेशिक रोजगारमा ठगिएका व्यक्तिहरुको न्यायका लागि पिपुल फोरमले निशुल्क रुपमा कानुनी सेवा उपलब्ध गराउँदै आएकोले वैदेशिक रोजगारमा गएका व्यक्ति ठगिएको भएमा पिपुल फोरमका विभिन्न कार्यालयहरुमा सम्पर्क राख्न समेत खनालले आग्रह गरे ।
कार्यक्रममा पिपुल फोरमका चितवन संयोजक सूर्यबहादुर बोहोराले बैदेशिक रोजगारमा गएर ठगिएका व्यक्तिहरु मध्ये पछिल्लो तीन महिनामा ३२ जना व्यक्तिलाई कानुनी परामर्श उपलब्ध गराइएको बताए । पिपुल फोरमले चितवनका पहाडी भेगहरुमा वैदेशिक रोजगार सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।