चितवनमा यस्तो छ चुनावी हिसाबकिताब

चितवन, ६ मंसिर । स्थानीय तह निर्वाचनको बेला अत्यधिक चासोको रुपमा हेरिएको चितवनलाई यस पटक पनि महत्वपूर्ण रुपमा हेरिएको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका चितवनबाट हेभीवेट उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका कारण पनि चितवन चर्चाको विषय बनेको हो ।
चितवनबाट तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभामा गरि जम्मा नौ जना विजयी हुनेछन् । प्रतिनिधिसभा निर्वाचनको लागि चितवनमा पूर्व प्रधानमन्त्री, बहालवाला मन्त्री, पूर्व अर्थमन्त्रीको उम्मेदवारी परेको छ । चितवन क्षेत्र नम्बर १ बाट वामपन्थी गठबन्धनका उम्मेदवार पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन् ।

त्यस्तै, चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट वामगठबन्धनका उम्मेदवार पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनबाट वन तथा भू–संरक्षण मन्त्री एवम् राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेको उम्मेदवारी रहेको छ ।
चितवनको निर्वाचन क्षेत्र नं १ मा वामगठवन्धनबाट एमालेका प्रभावशाली नेता एवम् पूर्वअर्थमन्त्री पाण्डेले कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई मूल प्रतिस्पर्धीका रुपमा पाएका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा पाण्डेले बुर्लाकोटीलाई करिब पाँच हजार मत अन्तरले हराएका थिए । पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका अहिलेको निर्वाचन क्षेत्र नं १ मा परेका छन् ।
वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनमा यी तीन वटै स्थानीय तहमा एमालेले बहुमत सदस्यसहित प्रमुख र उपप्रमुख जितेको छ । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये तीनजनाले स्वतन्त्र हुन् । स्वतन्त्र उम्मेदवारहरु मध्ये केही ठूला दलका डमी समेत छन् ।
स्थानीय तहको निर्वाचनमा राजनीतिक दलका वडा अध्यक्षहरुले पाएको मतलाई विश्लेषण गर्दा चितवन क्षेत्र नं १ मा नेकपा एमाले र माओवादी (केन्द्र) को वामगठबन्धन नै बलियो देखिन्छ ।

सोही निर्वाचन मतपरिणामलाई आधार मानेर वामगठबन्धनको मत जोड्दा ४४ हजार छ सय ७४ हुन आउँछ । यस्तै नेपाली कांग्रेस र राप्रपा, राप्रपा (प्रजातान्त्रिक) सम्मिलित लोकतान्त्रिक गठबन्धनको कुल ३२ हजार एक सय १० मत हुन्छ ।
चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन भन्दा वामगठबन्धन १२ हजार पाँच सय ६४ मतले अगाडि छ ।

स्थानीय तहको निर्वाचनमा भन्दा यस पटक चितवनबाट करिब ४१ हजार मतदाता थपिएकामध्ये क्षेत्र नम्बर १ बाट १२ हजार भन्दा बढी मतदाता थपिएका छन् । क्षेत्र नं १ मा एक लाख १९ हजार नौ सय ९८ मतदाताले मताधिकार प्रयोग गर्न पाउँछन् ।
चितवन क्षेत्र नम्बर १ को प्रदेशसभा (१)मा पनि १० जनाले उम्मेदवारी दिएका छन् ।

यो प्रदेश क्षेत्रमा वाम गठबन्धनका तर्फबाट सूर्य चिन्ह लिएर दावा लामा चुनावी मैदानमा छन् भने लोकतात्तिक गठबन्धनका तर्फबाट काँग्रेसका धनबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।

उक्त प्रदेशमा नेपाली काँग्रेस वीपीको तर्फबाट गोविन्दप्रसाद रिजालले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (२)मा पनि १० जनाको उम्मेदवारी परेको छ ।

वाम गठवन्धनबाट एमाले नेता कृष्ण खनाल र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उत्तम आचार्य उम्मेदवारको रुपमा रहेका छन् । प्रदेशसमा १ मा ५५ हजार पाँच सय ४४ जना मतदाता छन् भने, प्रदेशसभा २ मा ६४ हजार चार सय ५४ मतदाता छन् ।

यस पटक पूर्वी चितवनको समग्र विकासमा आफूले ठूलो भूमिका खेलेको भन्दै पाण्डेले पूर्वी चितवनमा मात्रै नभएर पूरै चितवनमा वामगठबन्धन विजयी हुने बताउँछन् । चितवनबाट वामगठबन्धन विजयी गराउनको लागि सबै जना जुट्नुपर्ने पाण्डेको भनाइ छ ।