भरतपुरमा ओलीको दाबी– “देश बनाउन पाँच वर्ष सरकार हामी बनाउछौँ” (भिडियो)

चितवन, ५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा कम्युनिस्ट सरकार र कम्युनिस्ट शासन आउने दाबी गरेका छन्।

भरतपुरमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वाम गठबन्धनदेखि नतर्सिन आग्रह गर्दै निर्वाचनपछि देशमा कम्युनिस्ट सरकार र कम्युनिस्ट शासन आउने दोहोर्‍याए।

Publié par Sauraha online sur mardi 21 novembre 2017

 

 

शान्ति र स्थायित्वका लागि एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको दाबी गर्दै अध्यक्ष ओलीले निर्वाचनपछि गठबन्धनले देशमा ५ वर्षको स्थायी सरकार दिने बताए।

‘निर्वाचनपछि मुलुकमा एउटा स्थायित्व आउँछ। हामी स्थायी सरकार दिन्छौं’, ओलीले भने, ‘देश बनाउन पाँच वर्ष सरकार चलाउँछौं।’

कम्युनिस्ट सरकार आए देशमा अधिनायकवाद स्थापित हुने भन्दै ओलीले नेपाली कांग्रेसको पछिल्ला अभिव्यक्तिको चर्को आलोचना गरे।

मन्तव्यका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रमक देखिएका अध्यक्ष ओलीले नाकाबन्दी विरुद्ध बोल्न नसक्ने मानिस अहिले देशको प्रधानमन्त्री पदमा बसेको टिप्पणी गरे। ओलीले उम्मेदवारमाथि आक्रमण भइरहेको प्रसंग जोड्दै गृह मन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्रीले शान्ति-सुरक्षा नदिएर चुनाव सार्न षड्यन्त्र गरेको आरोप लगाए।

अरुले क्षणिक स्वार्थका लागि लोकतन्त्रको कुरा गरेको बताउँदै ओलीले आफ्नो स्वार्थका लागि प्रजातन्त्र दरबारमा बुझाएको स्मरण गर्न सुझाए।

भृकुटी कागज कारखाना, बाँसबारी छाला जुत्ता कहाँ गयो भन्दै सोधेका ओलीले ३८ वटा उद्योग ध्वस्त पार्ने र ४० लाख युवालाई खाडी मुलुक पठाएको जिम्मा कांग्रेसले लिनुपर्ने उल्लेख गरे। उनले अबको सरकारले उदारीकरणको नाममा उद्योग बेचेर खाने काम नगर्ने दाबी समेत गरे।

फरक प्रसंगमा ओलीले चाडपर्व र निर्वाचनको हतारले समयमै पार्टी एकता गर्न नसकिएको बताउँदै चुनावपछि एउटै पार्टी हुने दाबी गरे।

उनले भने, ‘यो पार्टी र त्यो पार्टी भनिरहने अवस्था छैन, चुनावपछि दुवै पार्टी एक हुन्छ।’

चुनावमा निष्पक्ष भूमिका खेल्न प्रहरी प्रशासनलाई चेतावनी दिँदै ओलीले सोही अनुसारको सोच र व्यवहार नदेखाए चुनावपछि राम्रो नहुने संकेत गरे।