प्राध्यापकद्वारा वाम गठबन्धनलाई जिताउन आह्वान

चितवन, ४ मंसिर । भरतपुरको वीरेन्द्र क्याम्पसमा अध्यापन गराउँदै आएका प्रगतिशील प्राध्यापकहरुले वाम गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न आह्वान गरेका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनको सोमबार बसेको संयुक्त भेलाले चितवनका वाम उम्मेदवारहरुलाई जिताउन आग्रह गरेको हो । भेलाले क्याम्पसका प्राध्यापक दयानिधि घिमिरको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन संयोजन समिति गठन गर्दै वाम उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न आग्रह गरिएको हो । आगामी मंसिर २१ मा हुने निर्वाचनको लागि वाम गठबन्धन र पार्टी एकीकरणको प्रकृयालाई स्वागत गर्दै भेलाले वाम गठबन्धनले प्राध्यापक संगठन र शिक्षा क्षेत्रमा महत्वपूर्ण विकास गर्ने निस्कर्ष निकालेको संयोजन समिति सदस्य निरज भट्टले जानकारी दिए ।
मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न र नेपालीहरुको समृद्ध नेपालको चाहना पुरा गर्न वाम गठबन्धन महत्वपूर्ण हुने समेत भेलाले ठहर गरेको भट्टको भनाइ छ । मंसिर ५ गते मंगलबार भरतपुरको केन्द्रीय बस टर्मिनलमा वाम गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभालाई भव्य र सभ्य बनाउन तथा आम मतदातालाई कार्यक्रममा सहभागी हुन समेत आग्रह गरिएको छ ।

Promise Education Consultancy