बढी भार बोक्ने ३ भारतीय ट्रक कार्वाहीमा, १७ करोड बढी राजश्व संकलन गर्न यातायात कार्यालय सफल

कुल काफ्ले
चितवन, ४ मंसिर । सडक भार क्षमता भन्दा बढी लोड बोकेका ३ भारतीय ट्रकलाई यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले कारबाही गरेको छ ।
भारतको राजस्थानबाट काठमाडौं जांदै गरेका मार्बल बोकेका भारतीय नम्बर प्लेटका ३ ओटा ट्रकलाई चितवन ट्राफिक प्रहरी मार्फत कारबाही गरिएको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले जनाएको छ ।
करिब १५ दिन अगाडि २ ओटा ट्रकलाइ कारबाहीका लागि यातायात व्यवस्था कार्यालय विरगञ्ज पठाइएको र एउटा ट्रकलाइ यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले नै कारबाही गरेको हो ।
यातायात व्यवस्था कार्यालय विरगञ्जको निर्देशन अनुसार एउटा ट्रकलाइ १६ हजार रुपैंया जरिवाना तिराइएको सेवा कार्यालय भरतपुरका प्रमुख देवि प्रसाद आचार्यले जानकारी दिए ।
भरतपुर यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले चालु आर्थिक बर्ष ०७४÷७५ को चौमासिक सम्ममा १५ करोड ५९ लाख ५९ हजार रुपैंया राजस्व संकलन गरेको छ ।
कार्यालयले सवारी कर १२ करोड ८९ लाख ६२ हजार रुपैंया, आयकर ४३ लाख रुपैंया र नविकरण तर्फ ५५ लाख ७ हजार रुपैंया राजस्व संकलन गरेको कार्यालय प्रमुख देविप्रसाद आचार्यले वताए ।
त्यस्तै पटके एवं प्रमिट तर्फ १ करोड ७१ लाख ८७ हजार रुपैंया राजस्व संकलन गरिएको छ । रुट प्रमिट अनुसार सवारी चलेको वा चलेको भन्ने बारे समय समयमा अनुगमन भइरहेको आचार्य वताउंछन् ।