गणतन्त्रको आकाशमा चम्किरहनेछन् प्रकाश

सूर्य खड्का

  • टिप्पणी
    मंसिर ३ गते आइतबारको झिसमिसे बिहानी उज्यालो प्रकाश लिएर आइदिएन, प्रचण्ड, सीता, रेणु, बिना वा श्रृजनाहरुको हकमा।

बिहानै ५ बजेर ५० मिनेटमा अस्पताल पुर्‍याइएका प्रकाश दाहालले त्यसको दुई-तीन घण्टाअघि अन्तिम सास लिइसकेको नर्भिक अस्पतालले औपचारिक जानकारी दिँदै गर्दा नै प्रचण्ड परिवारमा पुत्र, पति, भाइ वा आत्मीयको अपूरणीय क्षति र वियोग अकाट्य सत्य साबित भइसकेको थियो।

पार्टीका एक जना केन्द्रीय सदस्य, जो आफ्नै मेहनतको लगानीले ज्यादा बनेका थिए। आफ्नो एकमात्रै छोरो, राजनीतिक मिसनको सबैभन्दा निकट सहयोगीको अप्रत्याशित हृदयविदारक मृत्युमा निकै भावुक देखिन्थे प्रचण्ड। एक पिताले ३६ वर्षे लक्का जवान छोराको शवमा पार्टीको झण्डा ओढाउनदेखि व्रह्मनालमा ढुंगा मन बनाएर दागबत्ती दिने काम चानचुने साहसले हुने सनातनी कर्म थिएन। तथापि, कहिले पुष्प जस्तै कमल र कहिले पत्थर जस्तो कठोर देखिने पुष्पकमल दाहाल प्रचण्डले भावविह्वल पत्नीलाई बेहोसीमै घरमा छोडेर छोराको अन्तिम बिदाई गरे। रुन चाहेनन् प्रचण्ड तर आँखाले आँसु लुकाउन सकेन। सम्हालिन खोजेका प्रचण्ड नरुदै पनि धेरै रोए। उनको फूर्तिलो शरीर शिथिल हालतमा देखिए पनि अक्सर आँसु लुकाउन सफल देखिए।

मृत्यु सुखद होइन। त्यसमाथि एकल छोराको मृत्युमा पनि नरोएका प्रचण्ड वास्तवमा वीर बाबु नै साबित हुन् खोजे। तर चाहेरै पनि सकेनन्। वास्तवमा रुनु पर्दथ्यो प्रचण्ड बेस्सरी। धित मरुन्जेल प्रचण्ड रुनै पर्दथ्यो। नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म आँखाका डिलमा टलपल भएका प्रचण्ड आँसु आम शोकाकुल आफन्त, समर्थकका अगाडि नचुहिएका भए पनि लाजिम्पाटमा उनी रुनै पर्छ, सीतालाई छलेर भए पनि। अकल्पनीय वियोग, त्यो पनि एकल पुत्रको। रोई-रोई थाक्नुपर्छ प्रचण्ड। योभन्दा वियोग, क्षति र पीडाको संसार निजी जीवनका एक पितालाई अरु केही हुनै सक्दैन।

एक पिताको काँधमा पुत्र वियोगको पीडा र दु:खको सागरमा चुर्लम्म डुबेका प्रचण्डले आकस्मिक परिवार वियोगको यो त्रासदीपूर्ण क्षतिका बीच फ्ल्यासव्याकमा सम्झिनुपर्छ २०५२ देखि २०६३ सम्मका हर गाउँ, बस्ती र शहरका मृत्युको श्रृखला।

जनताको स्तरमा रुने पालो सकिएको छ अहिले शायद। त्यसैले रुने पालो प्रचण्डको हो। उनलाई रुवाएको शास्वत प्रकृतिले हो। मानव चोला जन्मदाको साइतको लेखान्तले नै हो। कोही कसैले कुनै जालझेल गरेर यो मृत्यु वियोगमा प्रचण्ड परिवारलाई नपुर्‍याएकै कारण उनले रोएरै भुल्न सक्नुपर्छ यो पीडा। यो अपूरणीय पारिवारिक क्षतिको शोधभर्ना गर्न प्रचण्ड रोई-रोई थाकेर नै पुन: सम्हालिनुपर्छ। किनभने बेहिसाव रोएर मात्रै शोकलाई शक्तिमा बदल्ने शक्ति पुनः मिल्नेछ प्रचण्डलाई।

रुनु पनि आफै नयाँ उर्जा पाउनु हो भन्छन अध्यात्मिक संसारमा रमाउने सज्जनहरु। त्यसैले पनि पिता प्रचण्ड माता सीता वा दिदी रेणु र जीवन संगिनी बिना र श्रृजनाहरुलाई रुन कसैले पनि निरुत्साहित नगरौँ, नरोकौँ। शोकलाई शक्तिमा बदल्ने आँट र साहस उनको परिवारलाई मिलोस्। यही कामना गरौँ।

पिताका अलवा देशका दुई पटक प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका सदावहार अध्यक्ष, एक जना राष्ट्रिय नेताको उपमामा टेकेर वा जनयुद्धको फ्ल्यासव्याकमा अहिले प्रचण्ड र उनको परिवारलाई खिसीटिउरी गर्ने छुट कुनै पनि विवेकी सज्जनलाई छैन। किनभने वियोगको घडिमा खिसीटिउरी गर्नेहरु आफैमा एक प्रकारका रोगी हुन, जसलाई वेवास्ता गर्नु मात्रै समाधान हो।

जनयुद्धलाई हेर्ने मामलामा नेपाली समाज अझै विभक्त छ। त्यसैले प्रकाशको अल्पायुको मृत्युलाई उत्सव मनाउनेहरुको बारेमा खासै केही भन्नु परेन। तर जनयुद्धका एक जना मुख्य कमाण्डर प्रचण्डले छोरा प्रकाशलाई जीवनभर आफैसँग राखेर युद्धमा हिँडाए। उनले प्रकाशलाई मानुषी यमी भट्टराईलाई जसरी शहरमा पढाएनन्। दक्षिण छिमेकका विश्वविद्यालयहरुमा पठाएनन्। एकल छोरा हुनुको फाइदा उठाएर प्रकाश कापी कलम च्यापेर विदेशी विश्वविद्यालय कहिल्यै धाएनन्। बरु पिताको पदचाप पछ्याउँदै सधै बन्दुक बोकेरै पछिपछि दौडिए। जनयुद्धको आलोकमा प्रकाशको त्यो बाल्यकालीन युद्ध मोह, प्रेम र सहभागिता अनि संघर्ष नै हो प्रकाश सधै नेपाली आकाशमा चम्किरहने उज्यालो।

भैतिक रुपमा कुनै पनि बेला सकिने र प्रकाशका हकमा छिटो, अप्रत्याशित र अकल्पनीय रुपमा यमराज हाबी भएका मात्रै हुन्। मान्छे बाँच्ने उसका असल कर्महरु मात्रै हो। प्रकाशले ३६ वर्षे जोवन र जीवन पिताको सुख, खुसी संघर्ष र नेतृत्वमा साथी, सहयोगी र सहकर्मी भएर बिताए। यस कोणबाट प्रकाश कहिल्यै ननिभ्ने उज्यालो किरण नै बनेका छन्। ठूलाबडा नेताकाजीका छोराछोरी लागू पदार्थका दुर्व्यसनी हुने गरेका असरल्ल उदाहरणहरु बीचमा प्रकाशले उचालेको बन्दुकको उपज पनि हो यो गणतन्त्र। त्यसैले बाल्यकालकै गणतान्त्रिक योद्धा प्रकाश गणतन्त्रका गगनभेदी नारा नेपाली आकाशमा घन्किदासम्म कतै ओझेल पर्ने छैनन्। शास्वत मृत्यु छिटो भोगे, आफन्तलाई छिटो वियोगमा डुबाए। त्यो मात्रै हो क्षति।

अकल्पनीय मृत्यु व्यहोरेका प्रकाशका कैयन गल्ती कमजोरीहरु थिए होलान। तर मानवीय कमजोरीहरुका बाबजुद प्रकाशको पिता पुत्र बन्दुक संघर्षको आलोकमा नै वर्तमान राज्यको नयाँ शासन पद्धति स्थापित भएकोले प्रकाश जीवित छन्, उनका संघर्षका गाथाहरुमा, जनयुद्धका पानाहरुमा, वर्तमान परिवर्तित शासन व्यवस्थाका हर मोडहरुमा।

नेपालले २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौताको जगमा टेकेर जनयुद्धलाई शान्तिमा बदल्दै सम्वोधन गरेको सत्य हो भने प्रकाश वा प्रचण्डहरुलाई सम्झेर कुनै पनि सचेत नागरिकले नाक खुम्च्याउनु पर्दैन। उनीहरुका संघर्षहरुलाई नजरअन्दाज गर्न मिल्दैन। किनभने त्यो सम्झौतामा कि त देश जानै हुँदैन्थ्यो, गइसकेपछि त्यसलाई स्वीकार नगर्ने अवसरवादी तप्का मात्रै हुन्। प्रकाशलाई बदनाम गर्नेहरु वा प्रचण्डलाई खुइल्याउनेहरुले आफूलाई नै गणतन्त्रको मसिहा ठान्छन् भने गणतन्त्रको सबैभन्दा भद्धा मजाक त्यही हुनेछ। यो देशमा राजा फाल्ने गल्तीका अरु त सबै मतियार मात्रै थिए। कारक र नायक प्रचण्डै थिए। प्रचण्डका असली सारथीमध्ये एक प्रकाश नै थिए।

निजी जीवनमा प्रकाशलाई मिडियाले खेदिरह्यो बाचुन्जेल। यहाँ कथित सम्भ्रान्त वर्गका र वाम वा माओवादी भनेपछि नाम सुन्दै बान्ता आउने तप्काले र तिनकै मुखपत्र कथित ठूला मिडिया बाचुन्जेल प्रकाशका हकमा पूर्वाग्रही बनेका नै हुन्। संगठित मिडिया अपरेसनको व्यवस्थापनमा माओवादी चुकेका कारण पनि प्रचण्ड प्रकाशहरु ठूला मिडियामा बदनामीका शिकार बनाइएकै हुन्। तर मिडियाले प्रकाशको संघर्ष र सक्रियतालाई ढाक्न, छोप्न र मेट्न सकेन। सक्ने छैन पनि। जीवन-चोला नरहे पनि प्रकाश चम्किरहनेछन् गणतन्त्रका उज्यालो प्रतीकका रुपमा।

एक पिताका रुपमा असामयिक पुत्र वियोगको बज्रपात व्यहोरेका प्रचण्ड सन्तानलाई अवसरहरुमा सयर गराएर जनताका छोरा-छोरीलाई मात्रै युद्धमा होमिरहेका कमाण्डर बनेका थिएनन् भन्ने उदाहरण सीता, प्रकाश, रेणु र ज्ञानुहरु हुन। यस अर्थमा प्रचण्डले युद्ध कमाण्डरका रुपमा सही गरेको ठानिएला। किनभने माओवादीभित्र प्रचण्ड परिवारका हर सदस्यको जनयुद्धमा पुर्‍याएको योगदानको उच्च प्रशंसा स्वयं माओवादीहरुले नै गर्ने गरेका छन्। तर एक असल पिताका रुपमा छोरालाई विश्वविद्यालयका बदला बन्दुक बोकाउने पिता प्रचण्डले सायद प्रकाशमाथि, उसको बालसिद्ध अधिकारमाथि नपुर्‍याएको अविभावकत्व त्यही थियो। तैपनि मान्छेले सिक्ने कुरा जसरी पनि सिक्छ भन्ने त मिडिया र प्रविधिमैत्री प्रकाशको दैनिकीले स्थापित गरेकै थियो।

एकजना युद्ध कमाण्डर, पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्ष र गिनेचुनेका नेताका रुपमा धक फुकाएर रुन नपाएका प्रचण्डले पुष्पकमल दाहालका रुपमा छोराको शोकको बरखी बार्नु नै छ। उनले यही मौकामा आफूलाई सम्हाल्ने हो। यही बीचमा उनले शक्ति, सत्ता र बदलिएको संघर्षलाई अरु जनमुखी र देशभक्तिपूर्ण बनाउने प्रण र प्रतिज्ञा दोहोर्‍याउने हो। योबेला अब प्रचण्डका पुत्रका रुपमा कैयन प्रकाशहरु जीवित छन। तिनको भविष्य हेरेर प्रचण्ड थप आँटिलो, त्यागी देश निर्माताका रुपमा पुनर्जीवित हुनु पर्नेछ। भत्काउने, बिगार्ने र सिध्याउने लालसंघर्ष शान्तिमा बदलेर निर्माणको प्रतिज्ञा गरेका प्रचण्डले अब देश निर्माणको नयाँ उर्जा सम्हालेर अघि बढ्नु नै छ।

यस्तै-यस्तै आरोह अवरोह शोकको घडीमा प्रचण्ड परिवारलाई समवेदना। यस्तो कहिल्यै कुनै पिता मातालाई नहोस्।

लालसंघर्षका ती संघर्षपूर्ण गाथाहरुमा प्रचण्ड प्रकाश चम्किरहँदा स्व. आत्माको स्वर्गमै बास होस्। अलविदा प्रकाश।

शोकलाई शक्तिमा बदल्दै बाँकी युगीन कार्यभार पूरा गर्न नडगमगाउन् प्रचण्डका पाइला। प्रकाशकै उज्यालोमा प्रचण्ड पाइला लम्किरहुँन्। पहिलोपोस्ट