अझै पुगेन दुर्गममा मतदाता शिक्षा कार्यकर्ता

गुल्मी,४ मंसिर । कालिगण्डकी गाउँपालिका—३ जयखानी गुल्मीको विकट गाउँ हो । दुर्गम भएकै कारण यो भेगमा सरकारका कार्यक्रम र कर्मचारी मुस्किलले पुग्छन् । राज्यका कार्यक्रम मात्रै होइन, राजनीतिक दलका कार्यक्रम पनि हतपत पुग्दैनन् । यस्तै भएको छ, प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पनि । जिल्लाका अन्य भेगमा २६ कात्तिकबाटै मतदाता शिक्षा सुरु भइसकेको छ । तर, जयखानीमा अझैसम्म कुनै पनि मतदाता शिक्षा कार्यकर्ता पुगेका छैनन् । ‘भोट हाल्ने तरिका सिकाउन अझैसम्म पनि कोही आएको छैन,’ जयखानी छापकी देउरुपा थापाले भनिन्, ‘स्थानीय निर्वाचनमा बरु राजनीतिक दलका कार्यकर्ताले भए पनि भोट माग्दै मत हाल्न सिकाएका थिए ।’ मालिका गाउँपालिका–७ घमिरका भीमबहादुर विकले पनि यसपालि भोट हाल्ने तरिका सिकाउन कोही नआएको बताए ।

‘०७० र त्यसअघिका निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २ र स्थानीय तहको निर्वाचनमा ७ ठाउँमा भोट हालियो,’ उनले भने, ‘अहिले तीन ठाउँ हाल्नुपर्छ रे, अझै कसैले सिकाएका छैनन् ।’ धुर्कोट गाउँपालिका–४ जैसिथोककी ४५ वर्षीया रुमकला पोखरेलले पनि मतदाता शिक्षा स्वयंसेविका गाउँघरमा नआएको बताइन् । उनले अघिल्ला निर्वाचनमा पनि वडा भेलामा गएर भोट हाल्ने तरिका सिकेको बताइन् । आजको नयाँपत्रिकामा खबर छ।