प्रकाश दाहाल नर्भिकदेखि आर्यघाटसम्म

काठमाडौँ, ४ मंसिर । संसार जिते पनि शाश्वत सत्य मृत्युलाई मान्छेले कसैगरी पनि जित्न सक्दैन । जन्मपछि मृत्यु अवश्य हुन्छ । तर, विना कुनै रोग, दुर्घटना ३६ वर्षकै अल्पायुमै कोही सुतेको सुत्यै भएको खबर आउँदा कसको मन नरोला र रु यस्तै भयो प्रकाश दाहालको नियति पनि ।

शनिबार राति आफ्नै ओछ्यानमा सहीसलामत सुतेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डका एक्ला सुपुत्र प्रकाश राति कतिवेला कहिल्यै नबिउँझिने गरी निदाइसकेछन् । बिहान उनको चिसो शरीर उपचारका लागि नर्भिक हस्पिटल पु¥याइयो । चेकअपपछि डाक्टरले हस्पिटल पुग्नु दुई–तीन घण्टाअघि नै प्रकाशले प्राण त्यागिसकेको निक्र्योल दिए । प्रकाशको असामायिक निधनको खबर कसैलाई पत्यारै लागेन । सूर्योदयसँगै सामाजिक सञ्चालका वालहरूमा प्रकाशको स्वास्थ्यलाभको कामनाका पोस्टहरू देखिए । केहीले भने प्रकाशको निधन भइसकेको खबर पोस्ट गरे ।

बाबु प्रचण्डको चुनाव प्रचारप्रसारका लागि चितवनमा हुँदाखेरि नै आफ्नो स्वास्थ्यमा समस्या आएको भन्दै प्रकाश कात्तिक २९ गते काठमाडौं फर्किएका थिए । धपेडीका कारण अस्वस्थ महसुस भएको आकलन गर्दै उनी परीक्षणतिर भने लागेनन् । घरमै आराम गरे । शनिबार बेलुका उनलाई आमा ९सीता दाहाल०ले जाउलो खुवाएकी थिइन् । राति एक्लै सुतेका प्रकाश बिहान अचेत अवस्थामा भेटिए । उपचारका लागि दुई सहयोगीले उनलाई नर्भिक अस्पताल पु¥याए । तर, डाक्टरले अस्पताल ल्याउनुअघि नै उनको निधन भइसकेको घोषणा गरे ।

बिहान ८ बजेतिर नर्भिक अस्पताल पुग्दा खचाखच भिड थियो । सुरक्षाकर्मी परिचालित थिए । काठमाडौँमै भएका माओवादी नेता रामबहादुर थापा बादल, पम्फा भुसाल, हितमान शाक्यलगायतका नेता घटना सुनेलगत्तै अस्पताल आइपुगेका थिए । चुनावी तालमेलमा रहेका एमाले नेता झलनाथ खनाल, माधवकुमार नेपाल, ईश्वर पोखरेल, कांग्रेस नेता प्रकाशमान सिंह, प्रकाशशरण महतलगायतका नेता पनि अस्पतालमा उपस्थित भइसकेका थिए । तर, त्यहाँको भिड प्रकाशका बाबु प्रचण्ड कतिवेला आइपुग्छन् र विस्तृत घटना विवरण के हो भनेर जान्न आँखा तन्काइरहेको थियो ।

बाबु प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओलीका साथ झापामा थिए । छोराको मृत्युको खबर सुनेपछि राजधानी आउन उनी व्याकुल भए । उनी हेलिकोप्टरबाट काठमाडौं आउने तयारीमा रहेको खबर आयो । प्रचण्ड आउने खबरले नर्भिकमा भिडभाड झनै बढ्यो । तर, प्रचण्ड सीधै नर्भिक नआइ बेहाल पत्नीलाई सम्झाउन घर (लाजिम्पाट) पुगे । राति आफ्नै हातले जाउलो खुवाएको छोरालाई भोलिपल्ट मृत देख्दा ती आमाको मन कस्तो भयो होला रु उनी यति विक्षिप्त भइन् कि छोराले संसार छाडे पनि उनी न अस्पताल आउन सकिन्, न पार्टी कार्यालय, न त अन्तिम बिदाइ गर्न आर्यघाट नै पुग्न सकिन् ।

प्रचण्डले पौने १२ बजे नर्भिक अस्पतालमा पाइला टेके । सबैका क्यामेरा प्रचण्डतिर तेर्सिए । जनयुद्ध होस् वा शान्ति प्रक्रिया, प्रचण्ड सधैँ खरो रूपमा प्रस्तुत हुन्थे । तर, आइतबार उनी युद्धमा हारेको सिपाहीझँै लखतरान अवस्थामा थिए । नर्भिकको सिँढी चढ्दा बाबु प्रचण्डलाई हिँड्न धौधौ परेको देखिन्थ्यो । झापाबाट बाबु प्रचण्ड, चितवनबाट दिदी रेणु अनि कञ्चनपुरबाट श्रीमती विना नर्भिक अस्पताल आइपुगेपछि दिउँसो करिब १ बजे डाक्टरले अकस्मात् हृदयाघातका कारण प्रकाशको निधन भएको औपचारिक घोषणा गरे ।

माओवादी शीर्ष नेताहरूको गाइँगुइँ सुन्दा प्रकाशको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने कुरा थियो । तर, डाक्टरले नै पोस्टमार्टम गर्न आवश्यक नभएको भनेपछि शव सीधै माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पु¥याइयो । श्रद्धाञ्जली अर्पण गर्ने क्रममा पार्टीको झण्डा छोराको पार्थिव शरीरमा ओडाउँदै गर्दा बाबु प्रचण्डले आँसु थाम्न सकेनन् । बाबु प्रचण्डपछि माओवादी, एमाले, कांग्रेसलगायतका पार्टीका नेता तथा शुभचिन्तकले प्रकाशलाई श्रदाञ्जली अर्पण गरे ।

दिउँसो झन्डै ४ बजे प्रकाशको शव पशुपति पु¥याएको थियो । प्रकाशको अन्तिम बिदाइका लागि नेता, कार्यकर्तादेखि लिएर हजारौँ सर्वसाधारण पशुपति आर्यघाट पुगेका थिए । छोरा प्रकाशको शवमा बाबु प्रचण्डले दागबत्ती दिए ।

जनयुद्धमा लागेपछि पढाइ अधुरोे

प्रकाशको जन्म २०३८ साल असार १७ गते चितवनमा भएको हो । कलिलो उमेरमै बाबुसँगै जनयुद्धमा प्रवेश गरेकाले प्रकाशले ध्यान दिएर पढ्न पाएनन् । ०५७ सालदेखि पार्टीको पूर्णकालीन सदस्य भएका प्रकाशले औपचारिक रूपमा १२ कक्षा पास गरेका थिए ।

पुष्पकमल र सीता दाहालका चार सन्तानमध्ये प्रकाश कान्छा थिए । उनका रेणु र गंगा दुई दिदी छन् । जेठी दिदी ज्ञानुको क्यान्सरका ०७० सालमा निधन भएको थियो । प्रकाशले युद्धकालदेखि नै हरदम बाबुलाई सघाउँदै आएका थिए । बाबु प्रचण्डको सचिवालयको सबै काम उनी आफैँले हेर्ने गर्दथे । उनलाई कुशल व्यवस्थापकका रूपमा पनि चिन्ने गरिन्छ । आजको नयाँपत्रिका दैनिकबाट

Promise Education Consultancy