वाम गठबन्धनको चुनावी सभा यथावत

चितवन, ३ मंसिर । वाम गठबन्धनको मंसिर ५ गते भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनेको संयुक्त चुनावी सभा पूर्व निर्धारित कार्यतालिका अनुसार नै सञ्चालित हुने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको मृत्युपछि उक्त सभा समेत स्थगित गर्ने भनिएपनि केन्द्रीय कमिटिको सल्लाह अनुसार नै कार्यक्रम गर्ने भनिएको हो । ‘मंसिर ५ गते हुने भनिएको संयुक्त चुनावी सभा स्थगित गर्ने भनिएको भएपनि स्थगित नहुने भएको छ’ संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति चितवनका संयोजक अमिक शेरचनले भने, –‘अध्यक्ष कमरेड प्रचण्डको निर्देशन अनुसार अन्य पूर्व निर्धारित कार्यक्रमहरु यथावत रुपमा सञ्चालन हुने भएको छ ।’
शेरचनका अनुसार मंसिर ५ गतेको चुनावी सभालाई सम्बोधन गर्नको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा बादल, नेता नारायणकाजी श्रेष्ठलगायतका शीर्ष नेताहरु चितवनमा आउँदैछन् । चुनावी सभाको लागि तयारी सुरु गरिसकिएको शेरचनले जानकारी दिए । उक्त चुनावी सभामा धेरै भन्दा धेरै कार्यकर्ताहरु उपस्थित गराउन समेत सबै कमिटिहरुलाई निर्देशन दिइसकिएको शेरचनको भनाइ छ ।