चितवनमा ‘तारजाली लगाएर होइन, मन मिलाएर मतगणना’

चितवन, ३ मंसिर ।चितवनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी लिएका न्यायाधीश कुलप्रसाद शर्माले मंसिर २१ गते हुने चितवनको निर्वाचनको मतगणना नमुना र देशभर नै सकरात्मक सन्देश दिने खालको बनाउने बताएका छन् ।
संवाद मञ्च चितवनले शनिबार गरेको निर्वाचन संवाद कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शर्माले अब हुने निर्वाचनको मतगणना गर्दा तारजाली लगाएर गर्ने होइन, दलहरुको मन मिलाएर गर्ने बताए । कार्यक्रममा न्यायाधीश शर्माले भने, ‘विगतलाई फर्केर हेर्ने होइन, आगतको बाटो कोर्ने समय आएको छ ।’ आजको चितवन पोष्टमा खबर छ।
स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएपछि देशभर नै धेरै ठाउँमा तारजाली लगाएर मतगणना गरिएको थियो । भरतपुरले त्यतिबेला देशभर नै गलत पाठ पढाए पनि अब सही पाठ पढाउने बेला आएको छ ।
मुख्य निर्वाचन अधिकृत शर्माले तारजाली लगाएर मतगणना गर्ने संस्कारले अब आउने पुस्ताले के सिक्छ रु हामीले के सिकाउँदै छौँ रु भन्ने कुरामा दलहरु र उनीहरुका प्रतिनिधिले बुझ्ने समय आएको बताए । न्यायाधीश शर्माले भने, ‘मुख्य निर्वाचन अधिकृत भएर चुनाव सम्पन्न गर्ने जिल्ला चितवन नै मेरो अन्तिम हो । यो मेरो अवसर पनि हो, चुनौती पनि केही पक्कै छन् ।’
शर्माले २०७० सालको चुनावमा काठमाडौंमा मुख्य निर्वाचन अधिकृतको भूमिका निभाएका थिए । उनले भने, ‘मैले २०४३ सालदेखि निर्वाचन गराउँदै आएको छु, यहाँको चुनाव नै मैले सम्पन्न गर्ने अन्तिम चुनाव हो । हामी विगतलाई फर्केर हेर्दैनौँ । हिजो जे भयो, सकियो । अबको चितवनको चुनावको मतगणना देशभर नै सन्देश दिने खालको हुनुपर्छ ।’
कार्यक्रममा उपस्थित भएका विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरु, पार्टीका प्रतिनिधिहरुलाई न्यायाधीश शर्माले सुझाव दिँदै भने, ‘तपाइँहरु एकअर्कालाई गालीगलौज गर्न नलाग्नुस्, जनताको मनमुटुमा बस्नुस् । चितवनको निर्वाचन र मतगणनालाई भयरहित, पारदर्शी र विश्वसनीय बनाउन आ–आफ्नो तवरले उल्लेखनीय भूमिका निभाउनुस् ।’
उनले मतगणनामा महिलालाई बसाल्न पनि सुझाव दिए । उनले भने, ‘पुरुषले धेरै अवसर पाए, अबको मतगणनामा महिलालाई बसालौँ, उनीहरुलाई नै बढी अवसर दिऔँ ।’
कार्यक्रममा उनले चितवनका राजनीतिक दलहरुको सम्बन्ध सुमधुर नै रहेको बताए । उनले भने, ‘मैले दलहरुबीच अन्तरघुलन रहेको पाएको छु, जहाँसम्म आचारसंहिताको कुरो छ, सबै दलहरु नैतिकवान बन्नुपर्छ । आचारसंहिताप्रति सबै दलहरु गम्भीर र जिम्मेवारी बन्नुपर्छ ।’ चितवनमा आचारसंहिता उल्लंघन भएजस्तो आफूलाई नलागेको बताउँदै उनले भने, ‘केही छिटफुट घटना घटे त्यसलाई सम्बोधन गरौँला ।’