हो, म समृद्ध नेपालको ठेकेदार हुँ : मन्त्री पाण्डे (भिडियो सहित)

चितवन, २ मंसिर । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले आफू समृद्ध नेपाल निर्माणको ठेकेदार भएको बताएका छन् ।
चितवन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार समेत रहनुभएका पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टुरिस्टको संज्ञा दिँदै आफू समाज परिवर्तनको ठेकेदार भएको बताएका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर २७ तेलौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले निर्वाचन क्षेत्रलाई उच्च प्राथामिकतामा पारेर विकासका योजना कार्यान्वयनमा ल्याउने र चितवनलाई विकास गरेर देखाउने बताए ।

राजनीति मात्रै गरेर जनताको भविष्य उज्जवल नहुने भन्दै मन्त्री पाण्डेले जनताको दुख र सुखमा सँगसँगै भएर विकासका काम गर्न सकियो भने मात्रै जनताको भविष्य उज्ज्वल हुने दावी गरे । मेघौली विमानस्थल स्तरोन्नती गर्ने, कालोपत्रे गर्ने प्रतिवद्धता जनाउँदै पाण्डेले भरतपुर–गोलाघाटसम्मको सडकलाई अन्तराष्ट्रियस्तरको हुने गरी विस्तार गर्ने योजना मुख्य योजनामा पार्ने बताए ।
चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेबीच प्रतिपर्धा हुँदैछ । दाहाल वाम गठबन्धनबाट चुनाव लड्दै हुनुहुन्छ भने पाण्डेलाई नेपाली काँग्रेसले सघाएको छ ।

Promise Education Consultancy