चुनावी परिचालन समिति गठन (भिडियो सहित)

चितवन, २ मंसिर । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का वाम गठबन्धनका उम्मेदवार कृष्ण भुर्तेलले चितवनका नौ वटै निर्वाचन क्षेत्रमा वामगठबन्धनलाई विजय गराउनुपर्ने बताएका छन् ।

विक्रम सम्वत् २०४८ सालमा वाम गठबन्धन मिलेर चुनाव लड्दा सिंगो चितवनमा वाम गठबन्धन विजय भएको स्मरण गर्दै भुर्तेलले यो निर्वाचनमा पनि वाम शक्तिले विजयी हालिस गर्नुपर्ने बताए । भरतपुर महानगरपालिका वडा नम्बर २७ मेघौलीमा शनिबार वाम गठबन्धनको पार्टी प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुर्तेलले जनताको विकासको चाहना पुरा गर्नको लागि वाम सरकार आवश्यक रहेको बताए । आफूले प्राप्त गरेको स्थानीय निकायको अनुभवलाई प्रदेशमा प्रयोग गर्न तथा मध्यवर्ती क्षेत्र व्यवस्थापनको विषयमा सुरु गरेको कामलाई पूर्णता दिनको लागि पनि चितवन क्षेत्र नम्बर ३ को १ बाट आफू विजय हुनुपर्ने भुर्तेलले बताए ।
आफू मध्यवर्ती समितिको अध्यक्ष हुँदा मध्यवर्ती क्षेत्रका बासिन्दालाई निकुञ्जको जंगली जनावरबाट जोगाउनको लागि तारजालीको काम सुरु गरेकोले प्रतिनिधिसभामा विजय भएमा यसको स्थायी समाधान गर्न प्रतिवद्ध भएको भुर्तेलले बताए । समग्र भरतपुर महानगरपालिकाको विकास गर्दै चितवनलाई वैकल्पिक राजधानीको रुपमा अगाडि बढाउने आफ्नो भिजन रहेको भुर्तेलको भनाइ छ ।

उक्त अगुवा कार्यकर्ता भेलाले भरतपुर २७ को संयुक्त युवा निर्वाचन परिचालन समिति र संयुक्त महिला निर्वाचन परिचालन समिति गठन गरेको छ । यज्ञ चापागाईको संयोजकत्वमा शिव गिरी सहसंयोजक रहने गरि ५९ सदस्यीय युवा निर्वाचन परिचालन समिति तथा १३ सदस्यीय स्टेरीङ समिति समेत गठन गरिएको छ । त्यस्तै भेलाले राधा क्षेत्री संयोजक तथा बसन्ती चौधरी सहसंयोजक रहने गरि १७ सदस्यीय महिला निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी, एमाले नेता देवी ज्ञवालीलगायतले मन्तव्य राखेका थिए । वडा नम्बर २७ का संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक ढण्डुराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सदस्य प्रकाश भट्टले स्वागत मन्तव्य राखेका थिए ।