अपडेटः भोजपुरमा दोहोरो भिडन्त, टाइमबम विस्फोट, तीनजना घाइते, चुनावीसभामा पनि विस्फोट

राजन राई
भोजपुर, मंसिर २ । भोजपुरमा अज्ञात समूहले राखेको बम हटाउनेक्रममा प्रहरीसँग भिडन्त भएको छ ।
षडानन्द नगरपालिका–१३ बोयाको भीरथाप्लो भन्ने ठाउँमा राखेको टाइमबम हटाउनेक्रममा शनिबार दिउँसो ३ बजेतिर प्रहरी र अज्ञात समूहबीच भिडन्त भएको हो ।
टाइमबम राखिएको हल्ला चलेपछि हटाउन गएका प्रहरी र उक्त समूहबीच गोली हानाहान भएको हो ।
सो बम पड्किँदा छर्रा लागेर तीनजना घाइते भएका छन् । घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता विक्रम राई, प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरीजवान देवनारायण चौधरी छन् । राईको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बम हटाउनेक्रममा पड्किएपछि भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए ।
यसैबीच, शनिबार भोजपुरमै वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि बम पड्किएको छ ।
साल्पा–सिलोचो गाउँपालिका–२ कुलुङमा भइरहेको चुनावीसभामा बम पड्किएको हो ।
वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराती र प्रदेशतर्फका एक नम्बर क्षेत्रका उम्मेदवार राजेन्द्रकुमार राईको चुनावीसभानजिकै बम पड्किएपछि सभा तितर–वितर भएको थियो ।
बम प्रहारबाट कुनै क्षति भने नभएको घटनास्थलबाट उम्मेदवार किरातीका सहयोगी बलिरहाङ राईले जानकारी दिए ।