मेडिकल कलेजलाई सम्बन्धन दिन्छौं : ओली, घेराबन्दीमा परें : दाहाल

 

विशाल नेम्वाङ 

झापा, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकीकरण हुनेमा दुविधामा नपर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

 

शनिबार झापाको बिर्तामोडमा बिएन्डसी हस्पिटलले सुरु गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै संयुक्तरुपमा उद्घाटन गर्दै उनले निर्वाचनमा तालमेलमात्रैले पनि विपक्षीहरु अत्तालिएका टिप्पणी गरे ।

उनले निर्वाचनपछि आफूहरुको सरकार बन्ने भन्दै सो सरकारले नेपाली विद्यार्थीलाई मेडिकल शिक्षाका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वामपन्थीहरुले क्रान्तिमात्र गर्ने नभइ देश विकासमा पनि अग्रणी भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

उनले आफू प्रधानमन्त्री हुँदा मेडिकल कलेजलाई विस्तार गर्ने योजना बनाएपनि घेराबन्दीमा परेर पूर्वधार सम्पन्न केही मेडिकल कलेजलाई सम्बन्धन दिलाउन नसकिएको बताए ।