वाम गठबन्धनद्धारा घरदैलो र कोणसभालाई तीब्रता

चितवन, १ मंसिर । चितवन क्षेत्र नम्वर १ अन्र्तगत रत्ननगरमा वाम गठवन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । प्रत्येक दिन एउटा एउटा वडामा घरदैलो गर्दै आएको वाम गठवन्धनले शुक्रबार रत्ननगर–१० मा घरदैलोसहित कोण सभा गरेका छन् ।

चितवन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे,प्रदेश सभा (ख) उम्मेदवार कृष्ण प्रसाद खनाल, समानुपातिक उम्मेदवार कञ्चन खनालले घरदैलोसंगै बकुलहर,भानुचोक, पर्सौनी र टिकौलीमा कोण सभा गरेका हुन् ।

कोणमा बोल्दै उम्मेद्वारहरुले मुलुकको समृद्धिका लागि कम्युनिष्टको सरकार आवश्यक रहेको बताए । कम्युनिष्टले मात्रै समृद्धिको काम गर्न सक्ने भएकाले वाम गठवन्धनलाई मत दिन आह्वान गरे ।

सो अवसरमा प्रदेश सभाका उम्मेद्वार कृष्ण खनालले राजनीति संक्रमण अन्त्यतिर रहेकाले अब समाजवाद तर्फ उन्मुख हुनु पर्नेमा जोड दिए । उम्मेदवार खनालले वामगठवन्धन देखेर लोकतान्त्रिक गठवन्धन अत्तालिएको टिप्पणी गरे ।

समानुपातिक उम्मेद्वार कञ्चन खनालले उत्पीडितको अधिकार स्थापित गर्न वामपन्थीको सरकार बनाउनु पर्ने बताईन् । उम्मेदवारहरु जनताको घरघरमा पुगेर भोट मागेका थिए ।