चितवनमा मतदान अधिकृत गोलाप्रथाबाट छानिने चुनाव गर्न दस हजार जनशक्ति

चितवन १ मंसिर । तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचनका लागि के कति जनशक्ति चाहिने भन्ने तथ्यांक मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार झण्डै ५ हजार जनशक्ति चुनाव सफलतापूर्वक सम्पन्न बनाउन लागिपर्ने छन् । त्यस्तै सुरक्षातर्फबाट करिब ५ हजार २ सय जनशक्ति तयार भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएअनुसार कुल ४ हजार ८६ जना जनशक्तिमा जिल्ला तहबाट ३ हजार २ सय ५९ जनशक्ति खटिने छन् । त्यस्तै मतदान केन्द्रमा मतदान अधिकृतले स्वयंसेवकका रुपमा १ हजार ६ सय २७ जनालाई नियुक्त गर्नेछन् ।
स्थानीय निकायको भन्दा झण्डै एक हजार कर्मचारी थप भएका छन् । हाल मतपत्र थपिएका कारण कर्मचारीको संख्यासमेत बढेको हो । चुनावमा यसअघि सामान्य विधिबाट मतदान अधिकृत, सहायक मतदान अधिकृत तोकिने गरेकोमा यसपटक भने निर्वाचन अयोगको निर्देशनअनुसार गोलाप्रथाबाट कर्मचारी तोकिन लागिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । तीन दिनमा कर्मचारी छनोट गरी प्रशिक्षण दिइने र कार्यस्थलमा सुरक्षाकर्मीसहित खटाइने घिमिरेले बताए । गोलाप्रथा गर्दा विभिन्न आरोप, आग्रह र दबाब तथा प्रभावबाट मुक्ति हुने उनले विश्वास व्यक्त गरे ।
निर्वाचनमा ५ हजार २ सयको हाराहारीमा सेना, सशस्त्र, नेपाल प्रहरी, म्यादी प्रहरी र जासुसको टोली परिचालन हुँदैछ । प्रहरी निरीक्षक ५१ जना प्रनानि १ सय १० जना, हवलदार ३ सय २२, जवान १ हजार ४ सय १२ गरी कुल १ हजार ८ सय १५ जना नेपाल प्रहरीको जनशक्ति परिचालन हुनेछन् ।
कुल १७ सय म्यादी प्रहरी रहने छन् । सुरक्षाका लागि तीन घेरा बनाइएको छ । सवैभन्दा बाहिरी घेरामा सेना, बीचमा सशस्त्र र पहिलो घेरामा नेपाल प्रहरी रहने छन् । हरेक केन्द्रमा २ जना अनिवार्य महिला सुरक्षाकर्मी हुनेछन् । कुल १ सय ६१ मतदानस्थलमध्ये ५२ स्थल अतिसंवेदनशील रहेको प्रहरीले जनाएको छ ।, आजको चितवनपोष्ट दैनिकमा खबर छ ।

Promise Education Consultancy