भोट हाल्ने तरिका सिकाउन चितवनको गाउँगाउँमा निर्वाचन शिक्षा कार्यकर्ता

चितवन, १ मंसिर । । चितवनमा मतदाताहरुलाई निर्वाचनसम्बन्धी शिक्षा दिलाउन र भोट हाल्ने तरिका सिकाउन निर्वाचन शिक्षा कार्यकर्तालाई गाउँगाउँमा पठाइएको छ । निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरि ढकालले तालिम सकेर गाउँगाउँमा भोट हाल्ने तरिका सिकाउन पठाइएको जानकारी दिए ।
निर्वाचन कार्यालय भरतपुरले मतदाता शिक्षा तालिममार्फत भोट हाल्न सिकाउने जनशक्ति तयार पारेको थियो ।
‘जनशक्ति तयार भयो, गाउँगाउँमा भोट हाल्ने तरिका सिकाउन पनि पठाइसकियो’ निर्वाचन कार्यालय प्रमुख ढकालले भने, ‘यसपटक जनशक्ति धेरै छन् । त्यसैले लगभग सबै मतदातासामु निर्वाचन शिक्षा कार्यकर्ताहरु पुग्छन् ।’ यस पटक मतदाता शिक्षा तालिम एकदिनको मात्र थियो ।
यस पटक भोट हाल्न तरिका सिकाउने जनशक्ति ४०८ जना छन् । स्थानीय चुनावमा ३७६ जनालाई मतदाता शिक्षा तालिम दिइएको थियो । ‘यसपटक एक जना निर्वाचन शिक्षा कार्यकर्ताले बढीमा एक हजार मतदातालाई भोट हाल्ने तरिका सिकाउनुपर्छ’ निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘निर्वाचन शिक्षा कार्यकर्तालाई पायकपर्ने ठाउँमा खटाइएको छ ।’ उनले तोकिएका सबै ठाउँमा पुग्न निर्वाचन शिक्षा कार्यकर्तालाई निर्देशनसमेत दिइएको बताए । निर्वाचन शिक्षा कार्यकर्ता प्रायः सबै महिला छन् ।
निर्वाचन कार्यालय भरतपुरले चुनावको दिन मंसिर २१ गतेसम्म निर्वाचन शिक्षा कार्यकर्ता फिल्डमै खटिने जनाएको छ । भरतपुरको चितवन मावि नजिक रहेको शैक्षिक तालिम केन्द्र र जिल्ला समन्वय समितिको हलमा मतदाता शिक्षा तालिम दिएर भोट हाल्ने जनशक्ति तयार पारिएको थियो ।
पहिलो दिन २६ गते १४० जनालाई, दोस्रो दिन २७ गते २०० जनालाई तालिम दिइएको थियो । आजको चितवन पोष्ट दैनिकमा खबर छ।
‘तालिम लिन केही अझै बाँकी छन्, उनीहरुलाई पनि तालिम दिएपछि गाउँगाउँमा खटाइनेछ’ सूचना अधिकारी ढकालले भने । सर्वोच्च अदालतले प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अलग अलग बनाउन निर्देशन दिएपछि मतदाता शिक्षा कार्यक्रम पनि ढिला सुरू भएको थियो ।
यसअघि आयोगले एउटै मतपत्र छापेको थियो । सर्वोच्चको आदेशपछि आयोगले अलगअलग मतपत्र छापेर जिल्लामा पठाउँदा ढिला भएको हो । भोट हाल्ने तरिका सिकाउने जनशक्तिमा शिशु शिक्षिका, स्वास्थ्य स्वयम्सेविका र सामाजिक परिचालिका रहेका छन् ।
प्रत्यक्षको छोटो, समानुपातिकको लामो
स्थानीय तहको चुनावमा मतपत्र लामो थियो । यसपटक प्रत्यक्षतर्फको मतपत्र छोटो छ । समानुपातिकको मतपत्र केही लामो छ । समानुपातिकको मतपत्रमा दुई खण्ड छन् । पहिलो खण्ड र दोस्रो खण्ड दुबैमा एक÷एक आफूले राजेको चिन्हमा स्वस्तिक छाप लगाउनुपर्छ । छोटोछरितो मतपत्र भएकाले निर्वाचन शिक्षा कार्यकर्तालाई भोट हाल्ने तरिका सिकाउन पनि सजिलो छ । प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो भए पनि ३ वटा मतपत्रमा ४ वटा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रिया केही झन्झटिलो देखिएको छ । स्थानीय तहमा ७ ठाउँमा भोट दिनुपथ्र्यो, अहिले ४ ठाउँमा भोट दिनुपर्छ । मतपत्र तीन रङ्गको हुन्छ । मतदाताले अन्तिमपटक पाउने समानुपातिकको मतपत्र रातो रङ्गको हुन्छ । प्रदेशसभाको मतपत्र कालो र प्रतिनिधिसभाको मतपत्र निलो हुन्छ ।
एकैचोटी सबै मतपत्र पाइँदैन
यसपटक मतदाताले एकैचोटी सबै मतपत्र पाउँदैनन् । एउटा मतपत्र खसालेपछि बल्ल अर्को मतपत्र पाउँछन् । पहिलो मतपत्र प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारको हुन्छ । प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाएर मतपत्र बाकसमा खसाइसकेपछि मतदाताले बल्ल अर्को मतपत्र पाउँछन् । दोस्रो मतपत्र प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाएर बाकसमा खसालेपछि मतदाताले तेस्रो मतपत्र पाउँछन् । तेस्रो मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई मतदान गर्नुपर्छ ।

.