मतदान केन्द्रबाटै नयाँ मतदाता परिचयपत्र वितरण गरिने

काठमाडौं,१ मंसिर । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नयाँ मतदाताका लागि मतदान केन्द्रबाटै परिचयपत्र वितरण गर्ने भएको छ।

स्थानीय तह निर्वाचनमा फोटोसहितको मतदाता परिचय पत्र बुझ्न बाँकी रहेका र नयाँ मतदातालाई परिचय पत्र वितरणको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेभित्र १८ बर्ष उमेर पुगेका, नामावली सार्न, सच्चाउन निवेदन दिएका मतदाताले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लाको सम्बन्धित मतदान केन्द्रबाट मंसिर ८ र ९ गते परिचयपत्र प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट परिचयपत्र वितरण हुने आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताले सोही परिचयपत्रबाट मतदान गर्न पाउने आयोगका सहसचिव समेत रहेका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।