यू -१९ एसिया कप नेपालद्वारा अफगानिस्तानलाई १०४ रनको झिनो लक्ष्य

काठमाडौं,१ मंसिर । एसिसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको झिनो लक्ष्य प्रश्तुत गरेकोछ ।। पहिले ब्याटिङ गरेको नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको हो।

नेपाल २८ ओभरमा १०३ रनमा अलआउट भयो।नेपालका लागि अनिल साहले सर्वाधिक ५० रन जोडे। उनले ५८ बलको सामना गर्दा ७ चौका र १ छक्का प्रहार गरे। अनिलबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

मलेसियाको किनरारा ओभलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले खराब सुरुवात गरेको थियो।

नेपालले ओपनरद्वय जितेन्द्रसिंह ठकुरी र आसिफ सेखलाई सस्तैमा गुमायो। जितेन्द्र १ र आसिफ शून्य रनमा आउट भए।

कप्तान दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। रोहितकुमार पौडेल ४ रनमै पेभेलियन फर्के। यस्तै भीम सार्की पनि ६ रन बनाएर खेलिरहदा रनआउटको सिकार बने।

पवन सर्राफ ८ रनमा आउट भए। कमलसिंह ऐरी र किशोर महतो शून्य रनमा आउट भए। नेपालले पछिल्ला ४ विकेट १२ बलको बीचमा गुमाएको थियो।

सन्दीप लामिछाने ७ रनमा रनआउट भए। सहाब आलम ७ रनमा अविजित रहे।बलिङतर्फ अफगानिस्तानका मुजिब रहमानले ६ विकेट लिए । क्वाइस अहमदले २ विकेट हात पारे।