ज्योतिले उफारिन् दर्शक

ध्रुवराज खनाल
चितवन, २९ कात्तिक ।  रत्ननगरमा जारी पूर्वी चितवन महोत्सवमा बुधबार करिब ९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । रत्ननगर जेसीजको आयोजनामा विद्युत्चोकस्थित चौरमा जारी महोत्सवको छैटौं दिन चर्चित लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुति रहने भएपछि दर्शकको चाप बढेको थियो ।

सात वटा एकल गीत गाएकी मगरले अन्तिममा दोहोरी गीत गाएर दर्शकलाई नचाइन् । ज्योतिको गीतमा उपस्थित हजारौं दर्शक झुमेका थिए । ‘उही मुलाको सिन्की उही मुलाको चाना’ र ‘जिम्मल बाउकी छोरी’ भन्ने गीतमा दर्शकले लुगा नै फुकालेर नाच्नुपर्ने स्थिति देखिएको थियो । दर्शकदीर्घामै आएर ज्योतिले गीत गाउन थालेपछि दर्शकको हुटिङ झनै बढ्यो । अन्तिममा स्थानीय कलाकार रमेश लामिछानेसँग ज्योतिले करिब १० मिनेट दोहोरी गीत गाएर स्टेजबाट विदा भइन् ।

 

महोत्सवअन्तर्गत बुधबारै विद्यालयस्तरीय नृत्य प्रतियोगिता भएको छ । जसको निर्णय भने बिहीबार सार्वजनिक गरिने महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा एक दर्जन विद्यालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । महोत्सवको सातौ दिन विहीवार गायिका इन्दिरा जोशीको प्रस्तुती रहने आयोजकले जनाएको छ । संस्कृति संरक्षणसँगै व्यापार प्रवद्र्धनका लागि कार्तिक २४ गतेदेखि सुरु भएको महोत्सव मंसिर ३ गतेसम्म चल्ने छ ।

विवाह विशेष यस महोत्सवमा विवाहसम्बन्धी विभिन्न प्रतियोगिता गरिएका छन् । विवाह मण्डप नै बनाएर प्रत्येक दिन एक जातिको विवाहसम्बन्धी जानकारीसमेत महोत्सवमा दिइएको छ ।

 

Promise Education Consultancy