गौचन हत्या कारण:यस्तो छ प्रहरीको निष्कर्ष

काठमाडौं, ३० कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ ।

घटना अनुसन्धान गर्न गठित समितिले गौचनको हत्या योजनाकार देखिएका समिरमानसिंह बस्नेतले ५५ अर्ब रुपैयाँमध्ये ठेक्का लागेको करिब १३ अर्बको २ प्रतिशत कमिसन तथा घैटेको परिवारलाई थप एक करोड दिन माग गर्दा गौचनले नमान्दा उनको हत्या भएको निष्कर्ष निकालेको छ ।

तराई–मधेसको मेरुदण्ड मानिएको पूर्व–पश्चिम र उत्तर दक्षिण गरी करिब १८ सय किलोमिटर हुलाकी लोकमार्ग बनाउने ठेक्का पाएको भारतीय ठेकेदार भागेपछि नेपाली निर्माण कम्पनीले ठेक्का पाएका थिए ।

विभिन्न निर्माण कम्पनीलाई ठेक्का दिलाउन र असन्तुष्टलाई मिलाउने जिम्मा गौचनले लिएको जानकार स्रोतले बतायो ।
पहिलो चरणमा ५ सय १८ किलोमिटर मार्ग बनाउन १३ अर्ब ५० करोड रुपैयाँको लागत निकालिएको थियो ।

हुलाकी लोकमार्गको ठेक्का लागे को करिव १३ अर्ब रुपैयाँको २ प्रतिशत कमिसन दिन नमान्दा शरद गौचनको हत्या भएको प्रहरीको निष्कर्ष छ ।
त्यसमध्ये ४ सय ५८ किलोमिटरको ठेक्का स्वीकृत भएको थियो । स्रोतका अनुसार ठेकेदार चयनमा महासंघका पदाधिकारीले प्रत्यक्ष हस्तक्षेप गरेका थिए ।
‘आफूनिकटलाई ठेक्का दिलाउन गौचन आफैं आयोजनाको कार्यालय गएर दबाब दिने गरेका थिए,’ आयोजनाबारे जानकार एक अधिकारीले भने, ‘ठेकेदारहरू मिलाउने जिम्मा उनैले लिँदा आन्तरिक विवादसमेत देखिएको थियो ।’
आजको नागरिक दैनिकमा छ ।