रत्न्नगरको बालगृहमा संरक्षण दिएर बलात्कार

ध्रुवराज खनाल

रत्ननगर,३० कात्तिक । रत्ननगर–१, भक्तिनी बगैंचामा अवैधरुपमा सञ्चालित एक बालगृहमा बालिका बलात्कारको घटना बाहिर आएपछि तीन जना बालिकाको उद्धार गरिएको छ । स्थानीय गोविन्द ढकालले आफ्नो घरमा विनास्वीकृति सञ्चालनमा रहेको नामसमेत नराखिएको सो गृहबाट बुधबार तीन बालिकाको उद्धार गरिएको हो । आजको कायकैरण दैनिकमा खबर छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा हरिबाबु ढकाल, महिला तथा बालबालिका कार्यालय भरतपुरका सहायक महिला विकास निरीक्षक नीमा खड्का, केन्द्रीय बालकल्याण समितिका बाल संरक्षण स्रोतव्यक्ति मिठु आचार्य, रत्ननगर–१ का जनप्रतिनिधीहरु, प्रहरी, स्थानीयबासी र पत्रकारको रोहवरमा उनीहरुलाई उद्धार गरी भरतपुर लगिएको छ ।
बालगृहमा रहेकी एक १२ वर्षीया बालिकामाथि गृहका सञ्चालक ढकालले बलात्कार गरेको घटना बाहिर आएपछि जिल्लाबाट तथ्य बुझ्न र बालिकाहरुको उद्धार गर्न टोली आएको थियो । बलात्कार भएको घटना बाहिर आएपछि मात्रै त्यहाँ अवैधरुपमा गृह सञ्चालनमा आएको खुल्न आएको हो । सुर्खेत घर भएकी एक बालिकामाथि गृहका सञ्चालक ढकालले बलात्कार भएको घटनाको जाहेरी जिल्ला प्रहरी कार्यालय चितवनमा परेको छ ।
जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीअनुसार गत वर्षको वैशाखदेखि यही वर्षको भदौसम्म ती बालिकामाथि पटक–पटक बलात्कार भएको उल्लेख छ । घटना बाहिर आउने डरले गृहका सञ्चालक ढकालले ती बालिकालाई घर फर्काएका थिए । ती बालिकाले गृहका सञ्चालकले बलात्कार गर्ने गरेको परिवारमा भनेपछि मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा परीक्षण गराएका थिए ।

ती बालिका सुर्खेत फर्किएपनि यहाँ अझै तीन जना बालिका थिए । ढकाल पूर्व गाविस सचिवसमेत हुन् । जुटपानीस्थित मारानाथ बालगृहको नवीकरण र विधान संसोधनका लागि गएपनि आवश्यक प्रक्रिया नपुगेपछि जिल्ला प्रशासन कार्यालयले रोकेको थियो । सो गृहमा मुम्बईदेखि बालिका ल्याउने गरेको समेत खुलेको छ । “सो गृहमा मुम्बइबाट पनि बालिका ल्याइएको बुझ्नमा आयो”, जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा ढकालले भने, “धर्मको नाममा बालबालिका राखेर अपराध गर्न कसैलाई छुट छैन, त्यस्ता कानूनको दायरामा आउनुपर्छ ।” ढकाल क्रिश्चियन धर्म मान्छन् ।
ढकाल दम्पत्ती ४ वर्षपछि यहाँ आई घर बनाएर बसेका थिए । त्यतिबेलादेखि नै बालिकालाई घरमा राखिएको थियो । क्रिष्चियन धर्म मानेका ढकालले स्थानीयबसाीलाई समेत घरमा आउन दिदैनथे । “विवाहको कार्ड दिन जाँदा ढकालले पर्दैन भन्थे”, स्थानीय एक युवाले भने, “अरुलाई पनि घरमा जाँदा राम्रो व्यवहार हुँदैनथ्यो ।” अछामबाट ल्याइएकी एक बालिका पनि करिब २० दिन सो गृहमा बसेपछि अयन्त्रै पठाइएको थियो । ढकालकी श्रीमती सरस्वतीले ती बालिकालाई घर फर्काइएको बताएपनि बेचिएको हुन सक्ने स्थानीयको शंका छ ।
ढकालकी श्रीमती सरस्वतीले क्रिष्चियन धर्मबाट पैसा नलिएको बताउँदै श्रीमान्को पेन्सनले उनीहरुलाई पठनपाठन गराउँदै आएको दावी गर्छिन् । इलाका प्रहरी कार्यालयले बलात्कारको जाहेरी परेपछि सो गृहका सञ्चालक ढकाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । जाहेरी परेको कात्तिक २६ गते नै ढकाललाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले बताए । घटना प्रमाणित भएमा उनलाई जबरजस्ती करणी मुद्दाअनुसार ८ देखि १२ वर्षसम्म कैदको सजाय हुने प्रहरी नायब उपरीक्षक ढकालले बताए ।

Promise Education Consultancy