राष्ट्रपति आज युएई जाने

काठमाडौं, २७ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार संयुक्त अरब इमिरेट्स युएइको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी दिउँसो साढे चार बजे युएई प्रस्थान गर्ने उहाँका स्वकीय सचिव जीवच्छ शाहले जानकारी दिनुभयो ।
युएईका राजकुमार शेख मोहम्मद बिन जायद अल नाह्यानको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो ।
यस्तो छ रुट
शीतल निवासबाट राष्ट्रपति भण्डारी दिउँसो साढे चार बजे निस्कनुहुने कार्यक्रम तय भएको छ । त्यहाँबाट भाटभटेनी, ल्होत्से चोक, ज्ञानेश्वर, तिलगंगा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने रुट निर्धारण गरिएको छ । जामबाट जोकिन त्यससमय बैकल्पिक सडक प्रयोग गर्नु राम्रो हुनेछ ।
मंगलबार उच्च अधिकारीसँग भेट
युएईसँग कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा हुने भ्रमणका क्रममा मंगलबार युएईका उच्च पदस्थ अधिकारीहरुसँग राष्ट्रपतिको औपचारिक भेटघाट हुनेछ । भेटमा दुईपक्षबीच पारस्परिक सम्बन्ध विकासबारे चर्चा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आउँदो बिहीवार स्वदेश फर्किनु हुनेछ ।