‘उच्च सतर्कता अपनाउन सुरक्षा निकायलाई आयोगको निर्देशन

काठमाडौँ,२७ कात्तिक । प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उठेका उम्मेदवारमाथि एकपछि अर्को आक्रमण हुन थालेपछि निर्वाचन आयोगले सुरक्षा निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ। आइतबार आयोगमा बैठक डाकेर प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले तीनवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षा मजबुत पार्न निर्देशन दिएका हुन्।
रक्षासचिव विनोद केसी, गृहसचिव मोहनकृष्ण सापकोटा, प्रहरी प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीप रेग्मीलाई आयोगमा डाकेर यादवले चुनाव नजिकिँदै जाँदा चुनाव भाँड्ने तत्वहरू झन् सक्रिय हुने भएकाले सुरक्षा चुस्त पार्न निर्देशन दिएका हुन्। यादवले माओवादी केन्द्रका उम्मेदवारमाथि लगातार भइरहेको आक्रमण प्रयासलाई ख्यालठट्टा नसम्झन सुरक्षा प्रमुखलाई सुझाएका थिए।
उनले चुनावविरोधी तत्वहरू धर्ना र जुलुसभन्दा पनि बमबारी र गोली हान्नेसम्मको आपराधिक ‘मुडु मा जान खोजेको भन्दै सुरक्षा निकायलाई तम्तयारी अवस्थामा बस्न निर्देशन दिए। ‘मतदाता, उम्मेदवार र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको हो। उच्च सतर्कतासाथ सुरक्षाकर्मी परिचालनमा जोड दिनुस्,  यादवको निर्देशन उद्धृत गर्दै आयोग प्रवक्ता नवराज ढकालले अन्नपूर्णसँग भने, ‘घटना हुँदै नहुने होइन। आकलन गरिएभन्दा धेरै हुने सम्भावना छ। चारवटै सुरक्षा निकायले सुझबुझसँग सुरक्षा दिनुहोस्।, आजको अन्नपूर्णपोष्टमा खबर छ ।