पंक्षि रोगबाट बचाउन ९ जिल्लाका प्राविधिकलाई चितवनमा तालिम

बद्री अर्याल
चितवन, २६ कात्तिक । चितवनमा पंक्षिहरुमा लाग्ने रोग बारेमा सचेतनासगैँ जोखिम कम गर्न ७ दिने तालिम सुरु भएको छ ।
पंक्षिजन्य उत्पादन कुखुरा लगायतमा आत्मनिर्भर बन्दै नेपालमा पंक्षि रोगहरुको संक्रमण बढेपछि यसको रोकथाम गर्न चितवनमा विभिन्न ९ जिल्लाका ११ जना निजामति प्राविधिक तथा निजी क्षेत्रका सहायकस्तर प्राविधिकहरुलाई तालिम यहाँ सुरु भएको हो ।
राष्ट्रिय पंक्षि रोग अन्वेषण प्रयोगशाला चितवनको आयोजनामा आदेखि सुरु भएको तालिमको उद्धघाटन जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा.डिल्लीराम सेढाईले गरेका थिए ।
सो बोल्दै उनले पंक्षि रोगका विषयमा समयमै सचेत हुने हो भने किसानहरुले उचित फाईदा लिन सक्ने, नत्र भने यो महामारीका रुपमा फैलिने बताए ।
केन्द्रका प्रमुख डा.दयाराम चापागाईले एक हप्ते तालिममा विभिन्न पंक्षिहरुलाई के –के रोग लाग्छ, कसरी बच्ने, कसरी थाहा पाउने र कसरी जनचेतना जगाउने लगायतका विषयमा प्रशिक्षण दिदैछन् । सोही अवसरमा बोल्दै डा. चापागाईले पंक्षि रोग नियन्त्रण गर्न र यसबाट बच्न अन्वेषण केन्द्र सुरु गरेको तालिम उपयोगि हुने समेत बताए ।
सो अवसरमा राधा भुषाल, अर्जुन थपलिया, ईन्द्रुराम यादव, शिखा तिवारी लगायतले बोलेका थिए ।