देश विकासको निम्ति बामपंथी शक्तिको एकता: श्रेष्ठ

अजिरकोट, २६ कार्तिक   । गोरखा जिल्ला क्षेत्र नम्बर-२ दुई अन्तर्गतको अजिरकोट गाउँ पालिकाको विभिन्न स्थानमा सयुक्त बाम गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । अजिरकोट गाउँ पालिका -१ घ्याचोककोको मार्थर, अजिरको-१ कै घ्याचोक र अजिरकोट गाउँ पालिका -४ सिम्जुङमा चुनावी सभा सम्पन्न भएको हो ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले बिगतमा कम्युनिष्टहरु बिभाजित भएका कारण देश विकास हुन नसकेको बताउदै देश विकासको निम्ति सम्पुर्ण बामपंथी शक्ति एक भएको बताउनुभयो । यो चुनाव विकासको निम्ति हो श्रेष्ठले भन्नुभयो : विकास गर्न सरकार चाहिन्छ, बाम गठबन्धनलाई अत्याधिक मतले बिजयी गराउनुस । पुसमा बामपंथीको सरकार बन्ने निश्चित भइसकेको बताउदै श्रेष्ठले बाम गठबन्धनलाई दुई तिहाई सहितको बहुमत दिलाएर बिजयी गराउन आग्रह गर्नुभयो । बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले अब एमाले र माओवादी भन्ने पार्टी नहुने बताउदै सबै कम्युनिष्ट पार्टी मिलाएर एकीकृत कम्युनिष्ट पार्टी बन्ने प्रष्ट पार्नुभयो । श्रेष्ठले भुकम्प पीडित हरुको हितको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । घर बनाइसकेका भुकम्प पिडितहरुले राज्यबाट सुबिधा पाउन नसकेको समस्याको बिषयमा पुनर्निर्माण प्राधिकरण सङ्ग आवश्यक छलफल भइरहेको उहाँले बताउनुभयो । जनता सङ्ग सल्लाह गरेर प्राथमिकताको आधारमा जनताको आवश्यकता र समस्या समाधान गर्ने श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चुनावी सभामा नेकपा एमाले गोरखा जिल्ला अध्यक्ष प्रेम गुरुङ, एमाले नेता डाक्टर बाबुराम अधिकारी, नेकपा माओवादी केन्द्रका नेता दिपक देवकोटा लगायतकाले सम्बोधन गर्नुभएको थियो ।