कीर्तिनिधि विष्ट: राजीनामा दिएर चर्चित, महाकाली सन्धि अनुमोदनको विरोध गर्दा पक्राउ

काठमाडौं, कात्तिक २५ : ९१ वर्षको उमेरमा शनिबार देहावसान भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ थिए ।ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएका विष्ट विगत केही समयदेखि अस्वथ्य थिए । पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियोे ।उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए ।

राजनीतिसम्बन्धी लेखहरू लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको संगतबाट राजनीतिमा सरिक भएका विष्टले नेपाली राष्ट्रिय कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी जहानियाँ राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा सक्रियतापूर्वक लागेका थिए ।

सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भएका विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री, मन्त्रिपरिषद्का उपाध्यक्ष, उपप्रधानमन्त्री हुँदै सन् १९६९, १९७१, १९७२ र १९७७ गरी चारपटक प्रधानमन्त्री भएका थिए । विसं २०६१ माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सन्चालन गरेपछि उनलाई विसं २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गरेका थिए ।

विसं २०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण राजीनामा दिई नेपालको इतिहासमा चर्चित भएका उपाध्यक्ष विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको सुरुवात गरेका थिए ।

विसं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहनुका साथै सोही पार्टीबाट उनी विसं २०१५ फागुन गते भएको काठमाडौं–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नेका थिए ।

उनले तत्कालिन वाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनी पक्राउ परेका थिए । उनले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्यान्डस्, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमन्डलको नेतृत्वसमेत गरेका थिए । उनको राजनीतिक दर्शनको अध्ययन र पत्रकारितामा रुचि थियो ।

उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । उनको दुई छोरा र तीन छोरी छन् । दुई वर्ष अघिमात्र उनको श्रीमती र एक छोराको निधन भएको थियो । रासस