जल र पर्यटनबाट चितवनको विकास सम्भव : भुर्तेल (भिडियो सहित)

आनन्द पोखरेल
चितवन, २५ कात्तिक । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा १ मा वामगठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता कृष्ण भुर्तेलले चितवनको विकासको सम्भावना भनेको जल र पर्यटन भएको बताएका छन् । शनिबार भरतपुरको आँपटारीमा पेशागत महासंघ नेपाल जिल्ला शाखा चितवनको आयोजनामा भएको वृहत वनभोज तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भुर्तेलले नारायणी नदीलाई व्यवस्थापन गर्दै जल पर्यटनलाई अगाडि बढाउने बताए ।
आफू विजयी भएर गएपछि आफ्नो प्रदेशका अधुरा कामहरु पूरा गर्दै समृद्ध चितवन बनाउनको लागि नयाँ योजनाहरु अगाडि बढाउने भुर्तेलको भनाइ छ । वामगठबन्धनको सरकारले समाजवादको चार खम्बाहरु शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषयलाई नागरिकको पहुँचमा सजिलै पु¥याउन मद्दत पुग्ने भुर्तेलले बताए । नेपाली वामपन्थी आन्दोलनका अगुवाहरु मध्ये प्रचण्डलाई पश्चिम चितवनले पाएको उल्लेख गर्दै यो चुनौतीसँगै चितवनका जनताको अवसर समेत भएको भुर्तेलको भनाइ छ ।

चितवनको योजनावद्ध विकास गर्न सकिएमा नेपालको मध्य भागमा रहेकोले भोलिका दिनमा चितवन केन्द्रीय राजधानी बन्नसक्ने समेत भुर्तेलले बताए । चितवनको बाटाघाटा निर्माण, स्वास्थ्यको विकास गर्दै पर्यटकीय गन्तव्यको रुपमा तेस्रो स्थानमा रहेको चितवनलाई दोस्रो बनाउन सकिने भुर्तेलको भनाइ छ ।

उक्त भेटघाट कार्यक्रममा चितवन क्षेत्र नम्बर २ का वामगठबन्धनका उम्मेदवार कृष्ण भुर्तेलले युवाहरुलाई रोजगार र वृद्धहरुलाई सामाजिक सुरक्षाको लागि वामगठबन्धनको जित हुनुपर्ने बताए । आगामी मंसिर अन्तिम सातासम्म वामगठबन्धनको बहुमतको सरकार बन्ने र त्यसपछिका दिनमा देशको आर्थिक विकासले तीव्र गति लिने पोखरेलले बताए ।

वामगठबन्धन नजिकका पेशाकर्मीहरुले वामगठबन्धनलाई जिताउनको लागि विभिन्न कार्यक्रम समेत गर्ने जनाएका छन् । पेशागत महासंघ नेपाल चितवनका अध्यक्ष विनोद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्रबहादुर खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष डम्बर पुरीलगायतले मन्तव्य राखेका थिए ।