चुनाव पछि गाउँमुखी, जनमुखी बिकासको लहर आउँछ :- श्रेष्ठ

गोरखा , २५ कार्तिक  । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले चुनाव पछि गाउँमुखी, जनमुखी बिकास को लहर आउने बताउनुभएको छ । गोरखा जिल्ला क्षेत्र नम्बर -दुई अन्तर्गतको अजिरकोट गाउँ पालिका-३ काफलडाडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले संविधान कार्यान्वयन गर्दै देशको विकास गर्नको लागि मंसिर १० र २१ को चुनाव भएको बताउनुभयो । जनताको आशा र आकाक्षा पूरा गर्नको निम्ति मेरो उम्मेदवारी हो श्रेष्ठले भन्नुभयो : जनताको आधारभूत समस्या समाधान गर्न तुरुन्तै पहल गर्ने प्रतिबद्धता व्यक्त गर्छु । बाम गठबन्धनको साझा उम्मेदवार श्रेष्ठले बामपंथीको सरकार बन्ने निश्चित भएको भन्दै बाम गठबन्धनलाई स्पष्ट बहुमत दिन आग्रह गर्नुभयो । विकासको निम्ति सरकार चाहिने बताउदै श्रेष्ठले जनताको दैनिक जीवन नै फेर्ने गरि विकास गर्ने अठोट व्यक्त गर्नुभयो । गाउँको विकासको लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले नियमित सम्पर्कमा हुने प्रष्ट पार्नुभयो । गोरखा जिल्लामा पर्यटकीय स्थल धेरै भएकोले पर्यटन विकास, सडक/ बाटो बिस्तार, बिजुली/पानी को सुबिधा, जडिबुटी र फलफूल खेतिको लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।