वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा, विस्फोटलगत्तै दोहोरो भिडन्त

रोल्पा, कात्तिक २५ । रोल्पामा माओवादी केन्द्रका नेता वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा परेको छ ।रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा नेता पुन चढेको गाडीलाई लक्षित गरी बिच्छ्याइएको विद्युतीय धराप ‘माइन’ विस्फोट गराइएको हो ।

बम कसले राखेको भन्ने यकिन नभएपनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विद्युतीय धराप थापेको हुनसक्ने आशंका गरिएको छ ।

विस्फोटलगत्तै बाटोछेउमा लुकेर बसेका विप्लव कार्यकर्ताले फायरिङसमेत गरेको रोल्पाबाट नेता पुनले जानकारी दिएका छन् । जवाफमा उम्मेदवारको सुरक्षा स्कटिङमा रहेको टोलीले जवाफी फायरिङ गरेका थिए ।

माइन विस्फोट हुँदा दुईओटा गाडीमा सामान्य क्षति भएपनि गाडीमा रहेका सबैजना सकुशल रहेको नेता पुनले जनाएका छन् । पुन चढेको उक्त गाडीमा माओवादीकी समानुपातिक उम्मेदवार जयपुरी घर्ती र रोल्पा(२ का माओवादी प्रत्यक्ष उम्मेदवार दीपेन्द्र पुन पनि रहेको बताइएको छ ।

एमाले नेता गोकुल घर्ती र एमालेका प्रदेशसभाका समानुपातिक उम्मेदवार ईश्वरी घर्ती पनि सोही टोलीमा रहेको तर अर्को गाडीमा थिए । घटनाबारे प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेता पुनसँग जानकारी लिएका छन् ।

रोल्पा घर्ती गाउँमा हुने कार्यक्रममा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण गरिएको हो । पुनसहितको टोली ५ ओटा गाडीमा लस्करै जिनाबाङबाट घर्ती गाउँ जाँदै गरेको थियो । शुक्रबार (हिजो)मात्रै रुकुममा पनि माओवादी उम्मेदवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लव कार्यकर्ताले बम प्रहार गरेका थिए ।