मंसिर भित्रै बामपन्थीको दुईतिहाईको सरकार : खनाल

चितवन, २४ कात्तिक । चितवन क्षेत्र नं.१ प्रदेश सभा ख का उम्मेदवार कृष्णप्रसाद खनालले मंसिर भित्रै बामपन्थीको दुई तिहाईको बलियो सरकार बन्ने बताएका छन । रत्ननगर १६ पिठुवामा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले देशलाई बलियो बनाउने बामपन्थीहरुको दुई तिहाईको सरकार आवश्यक रहेको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका नेता खनालले देशलाई समृद्ध बनाउन दुई तिहाईको सरकार आवश्यक रहेको र त्यस्तो सरकार मंसिर महिना भित्रै बाम गठबन्धनले बनाउने बताए ।

पाँच बर्ष बामपन्थीले सरकार चलाउने अबसर पाए मुलुकले विकासमा कायापलोट हुने उनले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इज्चार्ज इश्वरी प्रसाद भट्टराईले बाम गठबन्धनले बहुमत हुईन दुई तिहाई ल्याउने बताए ।

उनले त्यसका लागि ईमान्दार भएर निर्वाचनमा लाग्न कार्यकर्तालाई आग्रह गरे । रत्ननगर १६ पिठुवामा भने प्रतिनिधी सभा उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेश सभाका उम्मेदवार कृष्ण खनालले घरघरमा पुगेर भोट मागेका थिए ।

राजनितिक सक्रमण अन्त्यतिर लागेकाले आर्थिक समृद्धिको बाटोमा हिड्न बाम गठवन्धनलाई जिताउन भोट माँग्दै हिडेका उनीहरुलाई मतदाताहरुले शुभकामना दिएका थिए ।

घरदैलो कार्यक्रममा बाम गठवन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपा एमालेका प्रदेश सदस्य जेएन थपलिया, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज कंचन खनाल,सहइन्चार्ज सुवोध अम्गाई लगायतको सहभागीतामा घरदैलो कार्यक्रम गरिएको थियो ।