लेखापालद्वारा ६१ करोड भ्रष्टाचार, राजधानीसहित चार ठाउँमा घर

काठमाडौँ, २४ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । अधिकारीमाथि ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको सहसचिव तथा आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । ‘उनलाई पक्राउ गरी उनीमाथि लागेका आरोपका विषयमा हामीले अनुसन्धान थालेका छौँ,’ कोइरालाले नयाँ पत्रिकासँग भने ।, आजको नयाँपत्रिकामा खबर छ।
लेखापालको जागिर : राजधानीसहित चार ठाउँमा घर
लेखापाल सुरेश अधिकारीले इटहरी, काठमाडौं र विराटनगरमा घर जोडेका छन् । उनको इटहरीमा एक, विराटनगरमा दुई र काठमाडौँमा एउटा सुविधासम्पन्न घर भएको स्रोतले जनाएको छ । हाल उनको सबै सम्पत्ति अख्तियारले रोक्का गरेको छ । उनले सवा करोड मूल्य पर्ने टोयटाको फर्चुनर गाडी चढ्दै आएका छन् । यो सम्पत्तिले नै भ्रष्टाचार प्रमाणित हुने आयोगको इटहरी कार्यालयमा कार्यरत डिएसपी मुकुन्द रिजालले बताए ।