जनकपुरधाम सबैका लागि प्रेरक – प्रधानमन्त्री देउवा

जनकपुरधाम, २२ कात्तिक (रासस) ः जनकपुरधाममा आज एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिवलिङ्ग बनाई पूजन महायज्ञ गरी नयाँ कीर्ति कायम गरिएको छ । विश्वमै पहिलो पटक एकै दिनमा एक करोडभन्दा अधिक पार्थिव शिव पूजनको कीर्ति कायम गर्न देश र विदेशका लाखौं आस्थावान्को जनकपुरधाममा आगमन भएको थियो । 

प्राकृतिक विपद्बाट रक्षा तथा सुख, शान्ति, कल्याण र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले जनकपुधामको बाह्र विघा (रङ्गभूमि मैदान )सो महायज्ञको आयोजना गरिएको थियो । पार्थिव शिवलिङ्ग बनाउने कार्यमा भारतको प्रसिद्ध शिवतीर्थस्थल बाबाधाम जाने नेपाल र भारतका आठ हजारभन्दा अधिक आस्थावान्को सहभागिता रहेको थियो ।

सो कीर्ति कायम गर्न बाह्र विघामा दुई लाख वर्ग फिटको पण्डाल र एक सय आठ कुण्ड निर्माण गरिएको थियो । मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिएको सो महायज्ञमा भारतको सिमरियाबाट एक टयाङ्कर गंगाजल र दुई ट्रक पूmलको व्यवस्थापन गरिएको थियो । सो अवसरमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरधाम सबैका लागि प्रेरक भएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सबै धर्मको सम्मान र रक्षा आजको आवश्यकता भएको पनि बताउनुभयो । परिवारका अध्यक्ष ललन ठाकुरले आठ हजारभन्दा अधिक आस्थावान्द्वारा बनाइएको एक करोड ७५ लाख पार्थिव शिवलिङ्गको एक हजार एक सय बाह्मणद्वारा एकै चोटि एकै समयमा वैदिक विधानअनुसार पूजन गरिएको बताउनुभयो ।

मूल व्यवस्थापन समितिका अध्यक्ष डा. अभयकान्त मिश्रले १४ वर्षअघि जनकपुरधामको रत्नसागर मन्दिरमा एक लाख महादेवको पूजा गर्ने बेलामा नै एक करोड महादेवको पूजा गराउने सङ्कल्प लिइएको प्रसंग उल्लेख गर्नुभयो । त्रेता युगमा राजा जनकले छोरी सीताको विवाहका लागि स्वयम्बरको आयोजना बाह्र विघामै गराउनुभएको र स्वयम्बरमा शिव धनुष नै राखिएको र सोही स्थलमा कोटी पार्थिव शिव पूजनको संकल्प सार्थक भएको बताइएको छ ।

पार्थिव शिवलिङ्ग बनाउन पण्डालमा समूहगत रूपमा व्यवस्थापन गरी सोका लागि चाहिने माटो जनकपुरधामकै प्रयोग गरिएको थियो । शिव हवनमा २१ क्विन्टल अक्षता, आठ क्विन्टल तिल, चार क्विन्टल जौ र चार क्विन्टल घीउको व्यवस्था गरिएको थियो ।

Promise Education Consultancy