चितवनमा मुख्य दलबाट महिला उम्मेदवार शून्य

नारायण ढुंगाना चितवन, २२ कात्तिक : आगामी मंसिर २१ मा हुने निर्वाचनका लागि चितवनबाट चुनावी प्रतिस्पर्धामा रहेका मुख्य राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिला उम्मेदवार उठाउन असफल भएका छन् । नेपालको संविधानले नै ३३ प्रतिशत सुनिश्चित गरिए पनि दल महिला उम्मेदवार उठाउन असफल भएका छन् । मुख्य गरी वाम गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) तथा लोकतान्त्रिक गठबन्धनमा सहभागी नेपाली काँग्रेस, राप्रपा (प्रजातान्त्रिक) लगायत दलले जिल्लाको तीन निर्वाचन क्षेत्रका नौवटै सिटमा महिला सहभागी गराएनन् ।

एक कानून व्यवसायी फूलमाया रानाभाट संविधानले नै प्रत्याभूत गर्दासमेत दलले महिला नउठाउनु संविधानकै उल्लंघन भएको बताउनुहुन्छ । उहाँले प्रत्यक्षमा ३३ प्रतिशत महिला उठाउनुपर्ने र उनीहरुले नजितेमा पनि समानुपातिकमा राखेर प्रतिशत पु¥याउनुपर्ने संविधानमा व्यवस्था रहेको जिकिर गर्नुभयो ।

चितवन जिल्लामा प्रतिनिधि सभातर्फ जम्मा दुई तथा प्रदेश सभातर्फ छ गरी आठ जनामात्रै महिला उम्मेदवार बनेका छन् । त्यही पनि स्वतन्त्र र अन्य साना दलबाट उम्मेदवारी परेको छ ।

जिल्लामा ९५ जना उम्मेदवार कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तको भनाइ छ । त्यसमा आठ महिला अर्थात् जम्मा ७ दशमलव ६ प्रतिशत मात्रै महिला सहभागिता देखिएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार चितवन निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ कसैको पनि उम्मेदवारी परेको छैन । क्षेत्र नं २ मा राष्ट्रिय जनता पार्टी, नेपालबाट खैरहनी नगरपालिका–९ की रीता चौधरीको उम्मेदवारी परेको छ । यस्तै, क्षेत्र नं ३ मा प्रतिनिधि सभातर्फ भगवती प्रसार्इंले स्वतन्त्रमा उम्मेदवारी दिनुभएको छ ।

प्रदेश सभातर्फ क्षेत्र नं १ को (क) मा नयाँ शक्ति पार्टीबाट खैरहनी नगरपालिका– ११ का भवानीदेवी घिमिरेले र (ख) मा नेपाल मजदुर किसान पार्टीबाट रत्ननगर नगरपालिका वडा नं ९ का तुलसी सापकोटाले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश सभातर्फको (क) मा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) बाट कालिका नगरपालिका– ५ की ४१ वर्षीया बुद्धिलक्ष्मी स्याङतानको उम्मेदवारी परेको छ भने (ख) मा नेपाल मजदुर किसान पार्टीकी मेनुका थापामगर र नेकपा (माले)बाट भरतपुरका सरस्वती शर्मा पौडेल उठ्नु भएको छ ।

चितवन क्षेत्र नं ३ को प्रदेश सभातर्फको (क) मा नयाँ शक्ति पार्टी, नेपालबाट भरतपुर महानगरपालिका वडा नं १७ का ४० वर्षीया मक्कुमाया गुरुङको उम्मेदवारी परे पनि (ख) मा भने महिला उम्मेदवार शून्य रहेको छ ।

संविधानको मस्यौदा समितिमा बसेर काम गर्नुभएका नेकपा (एमाले) चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेल प्रत्यक्षमा पनि महिलालाई उभ्याउने अभ्यास गर्न जरुरी रहेको औँल्याउनुहुन्छ ।

उहाँले महिला जित्दैनन् भन्ने सोच दलले हटाउनुपर्नेमा जोड दिनुभयो । चितवन क्षेत्र नं २ बाट उहाँ वाम गठबन्धनको प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत हुनुहुन्छ । उहाँले प्रत्यक्षतर्फ गठबन्धनबाट महिला उम्मेदवार नपरे पनि समानुपातिकबाट पूर्ति गरिने बताउनुभयो ।

एमालेबाट पार्वती सिल्वाल र फूलमति चौधरीको नाम गएको र गठबन्धनको अर्काे दल नेकपा माओवादी केन्द्रबाट समेत नाम परेको पोखरेल बताउनुहुन्छ ।

त्यसो त नेपाली काँग्रेसले समेत चितवनबाट कुनै महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाएन । काँग्रेस चितवनका सचिव उत्तम जोशी प्रत्यक्षमा नपरेकाले समानुपातिकमा राखेको बताउनुहुन्छ । संघीयतर्फ उमा अधिकारी, शान्ति परियार, विष्णुमाया परियार र प्रदेशतर्फ विनु पौडेल, गीता गुरुङ र गीता वाग्ले परेको उहाँले बताउनुभयो ।

यता, प्रत्यक्षतर्फ कुनै पनि सिटमा महिला नराखेको माओवादी केन्द्रले पनि समानुपातिकमा सिट सुरक्षित राखेको बताएको छ । केन्द्रका जिल्ला नेता ईश्वर सापकोटाले आवश्यक महिला समानुपातिकमा समेटिने बताउनुभयो ।

चितवन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विविध परिस्थितिले नसमेटिएको र अन्य समानुपातिक तथा मनोनीतमा गरेर भए पनि गठबन्धनले ३३ प्रतिशत पु¥याउने आश्वासन दिनुभएको जिल्ला नेत्री संगीता भट्टराईले जानकारी दिनुभयो । रासस