मुटु परीक्षण शिविरमा दुई सय ४० जनाको स्वास्थ्य परीक्षण

 

चितवन, कात्तिक २१ । भरतपुरमा रहेका लायन्स क्लब लगायतका विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको निशुल्क मुटु परीक्षण शिविरमा दुई सय ४० जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

लायन्स क्बल अफ नारायणगढ, लायन्स क्बल अफ नारायणगढ बालकुमारी, लायन्स क्बल अफ नारायणगढ नारायणी, रोट्रयाक्ट क्लब अफ भरतपुर, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा भरतपुर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस, नेपाल हृदय रोग निवारण प्रतिष्ठान, अफ्रिकन हर्टलगायतको संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

नारायणगढमा आयोजना गरिएको मुटु परीक्षण शिविरमा मधुमेह र सुगर समेत परीक्षण गरिएको लायन्स क्बल अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए ।

चेक गणतन्त्रबाट आएका सात जनाको डाक्टरको टोलीले परीक्षण गरेको मुटु शिविरमा एक जना आठ वर्षीय बालकको मुटुमा प्वाल भेटिएको चुकेले बताए ।

मुटुमा प्वाल परेका बालकको उपचारको लागि डाक्टरहरुले चेक गणतन्त्र लान चाहेकोले अभिभावकसँग छलफल गरिने चुकेको भनाइ छ । मधुमेह परीक्षण गर्न पुगेका बिरामी मध्ये अधिकांशमा रोग देखिएकोले खानपानमा विशेष ध्यान दिन डाक्टरहरुले अनुरोध गरेका छन् ।

पछिल्लो समयमा नेपालीहरुको परिवर्तित जीवन शैलीका कारण मधुमेहका बिरामी बढ्दै गएकाले नियमित व्यायमका अलावा खानपानमा समेत ध्यान दिनुपर्ने चिकित्सकको भनाइ छ ।