मुलुकमा स्थायित्व र विकासका लागि वाम गठबन्धनः नेता नेम्वाङ

इलाम, २१ कात्तिक (रासस) ः नेकपा एमालेका नेता सुवास नेम्वाङले मुलुकमा स्थायित्व र विकासका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ ।

इलाम नगरपालिका–५ स्थित बरबोटेमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो –“मुलुकको दीर्घकालीन विकासका लागि पनि वाम गठबन्धन आवश्यक थियो ।”

पूर्वसभामुखसमेत रहनुभएका नेता नेम्वाङले संविधानमै ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ लेखिएको देशमा जनताकै आदेश सदैव सर्वोच्च हुने उल्लेख गर्दै अहिले भ्रम फैलाउन खोजिएजस्तो ‘कम्युनिष्ट शासन’ वाम गठबन्धनले कल्पनै नगरेको र गर्न नसक्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि एक सार्वजनिक समारोहमा ‘कम्युनिष्टको शासनमा रुनसम्म पाइँदैन’ भन्ने अभिव्यक्ति दिनु संविधान विपरीत र गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो – “संविधानमा ‘लोकतान्त्रिक गणतन्त्र’ लेखिएको देशकै प्रधानमन्त्रीले त्यहीअन्तर्गत हुन लागेको निर्वाचनमा विपक्षी दल विजयी भए रुन–हाँस्न पाइँदैन भन्नु गलत हो ।”

वाम एकता कुनै निरङ्कुशता र अधिनायकवादका लागि भएको होइन नेता नेम्वाङले स्पष्ट पार्नुभयो ।