चितवनमा टोपी, ज्याकेट, झोलामा कुनैपनि दलको स्टिकर, पोष्टर तथा निर्वाचन चिन्ह लगाएर हिंड्न नपाईने व्यवस्था (भिडियो)

 

चितवन, २१ कात्तिक । शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आचारसंहिता भित्र रहन राजनितिक दलहरुलाइ चितवनका निर्वाचन अधिकृतहरुले आग्रह गरेका छन् ।
साथै निर्वाचन आचारसंहिताको पुर्ण पालनाका लागि सञ्चारकर्मीहरुको सहयोगको आवश्यकता रहेको मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले वताएका छन् । मंगलबार सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै चितवनका निर्वाचन अधिकृतहरुले सञ्चारकर्मीको सहयोगले निर्वाचन शान्तिपुर्ण रुपमा सफल हुने विश्वास व्यक्त गरे । मुख्य निर्वाचन अधिकृत शर्माले आचारसंहिता पालनामा कडाईका साथ लागिएको जानकारी दिए ।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत शम्भूराज रेग्मीले आचारसंहितामा टोपी, ज्याकेट, झोलामा कुनैपनि दलको स्टिकर, पोष्टर तथा निर्वाचन चिन्ह लगाएर हिंड्न नपाईने व्यवस्था रहेको बताए । उनले धार्मिक संघसंस्थामा जुलुस सभा गर्न नपाईने, विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै प्रचार गर्न पाईने जानकारी दिए ।
यस्तै उनले प्रतिनिधिसभाका उम्मेदवारले बढीमा ४ वटासम्म २ पांग्रे सवारी प्रयोग गर्न पाउने तथा टिभी एबं रेडियोमा विज्ञापन बजाउँदा २४ घण्टामा बढीमा ४ पटकसम्म एकमिनेट बराबरको मात्रै बजाउन पाउने बताए । प्रदेशका उम्मेदवारहरुले भने २४ घण्टाको अवधिमा बढीमा दुई पटक अधिकतम ४५ सेकेन्डको प्रसारण गर्ने पाउने व्यवस्था रहेको छ ।
चितवन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत परमेश्वर पराजुलीले आचारसंहिता उल्लंघन हुँदा कारवाही हुँदैन भन्ने धारणा रहेको भन्दै अनुगमन संयन्त्र पनि बनाईएको र उजुरीका आधारमा निर्वाचन कसुर अनुसार कै कारवाही हुने जानकारी दिए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निर्वाचन आचारसंहिता पालना गराउन पहल गर्न पक्षमै पत्रकारहरुपनि रहेकाले प्रशासन, निर्वाचन कार्यालय र पत्रकारहरुको सामुहिक पहल जरुरी रहेको बताए ।
चितवनका प्रहरी उपरीक्षक दीपक थापाले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाईएको र तीन घेरामा सुरक्षाकर्मी परिचालन हुने बताए । संवेदनशिल क्षेत्रको पहिचान गरी गुण्डाहरुको समेत निगरानी शुरु गरिएको उनले जानकारी दिए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरीले पत्रकारहरुको आफ्नै निर्वाचन आचारसंहिता रहेकाले त्यसैलाई ख्याल गरे मात्रै निर्वाचन आचारसंहिताको उल्लंघन नहुने विचार व्यक्त गरे ।
सो क्रममा उपस्थित पत्रकारहरुले निर्वाचन आचारसंहिता अनुगमन प्रभावकारी नभएको भन्दै ध्यानाकर्षण गराएका थिए । सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको र डमी उम्मेदवार उठाएर गाडीको दुरुपयोग भएको विगतको उदाहरण रहेको भन्दै पत्रकारहरुले यसतर्फ गम्भिर हुन आग्रह गरेका थिए ।