सम्पादकीय : मतदाता शिक्षा प्रभावकारी बनोस्

दुई चरणमा गरेर आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी निर्वाचन आयोगले अन्तिम चरणमा पु¥याएको छ । कर्मचारीको खटाउनेदेखि सुरक्षाको प्रत्याभुतिसम्मका काममा निर्वाचन आयोग जुटेको छ । निर्वाचनको प्रचारका लागि एकातर्फ दलहरु युद्धस्तरमा लागेका छन् भने मतदातालाई कसरी आफ्नो मताधिकार प्रयोग गर्ने भन्ने बिषयमा जानकारी गराउन राज्य तहबाट सञ्चालन हुने मतदाता शिक्षा पनि सञ्चालनको तयारीमा रहेको छ ।

संबैधानिक समस्याका कारण नमुना मत पत्रको छपाईमा भएको ढिलाईले मतदाता शिक्षा प्रभावित भएको भएपनि एक दुई दिनमा नै मतदाता शिक्षा सञ्चालन हुने जिल्लास्थित निर्वाचन कार्यालयले जानकारी गाराएको छ । मतदाता शिक्षा निर्वाचनको महत्वपुर्ण बिषय हो र यसलाई प्रभावकारी बनाउन जरुरी छ ।
निर्वाचन आयोगले प्रदान गर्ने मतदाता शिक्षा प्रभावकारी भएन भने मतदाताको अमुल्य मत बदर हुने सम्भावना बढेर जान्छ । जसका कारण मतदाताले चुनेको व्यक्ति विजयी हुनबाट समेत बन्चित बन्नु पर्छ । एक भोटले हारजीत गराउने सन्दर्भमा दुई चार प्रतिशत मत नै बदर हुँदा उम्मेदवारलाई समेत असर पर्ने र त्यसले समग्र प्रणालीमा नै प्रभाव पार्ने हुन्छ ।

बदर मत बढ्दा योग्य उम्मेदवार हार्ने र अयोग्य उम्मेदवारले जितेर सांसद बन्ने सम्भावना समेत प्रबल रहने गर्दछ । विगतका निर्वाचनहरुमा चितवनको बदर मतको संख्या धेरै नै रहेको भएपनि यस पटक सम्पन्न स्थानीय तह निर्वाचनको बदर मत भने निर्वाचन कार्यालयले सार्वजनिक गरेन । यसरी बदर मतको संख्यालाई हेर्दा अलग–अलग प्रयोजनको लागि भएका निर्वाचनमा अलग–अलग खालको आँकडा आएको पाईएको छ । यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फको मतपत्र छुट्टा–छुट्टै छापिने भएको छ ।
यस्तो व्यवस्था अनुसार यसपटकको निर्वाचनमा मतदाताले तीन वटा मतपत्रमा चार वटा छाप लगाउन पाउने भएका छन् । यसपटक प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टा–छुट्टै दुईवटा मतपत्र र समानुपातिक तर्फको एउटा मतपत्रमा भोट हाल्नु पर्नेछ । समानुपातिकतर्फ पनि मतदाताले प्रदेश र प्रतिनिधिसभाका लागि छुट्टा–छुट्टै भोट हाल्नु पर्नेछ । समानुपातिक तर्फको मतपत्र रातो छ भने प्रत्यक्ष तर्फको मतपत्र सेतो भूईमा हरियो मसीले छापेको हुनेछ ।

यस हिसाबमा एक जना मतदाताले चार पटक भोट हाल्नु पर्ने हुन्छ । मतदातालाई उचित मतदाता शिक्षा दिने हो भने यसपटक बदर मतको संख्या अझै घटेर जाने निश्चित छ । मतदान र आफ्नो मतको सदुपयोगको लागि मतदाताले पनि जन्ने बुझ्नेहरु सँगबाट मतदानको प्रकृया र आफ्नो मतको सदुपयोगको बिषयमा छलफल गर्न जरुरी छ । त्यस्तै गरि जिल्ला निर्वाचन कार्यालयले पनि मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्दैै मतदाता शिक्षा कार्यक्रममा खटिने कर्मचारी हरेक नागरिकको घरमा पुगेका छन् कि छैन भनेर अनुगमन गर्नु जरुरी छ ।