अज्ञात सवारी साधनको ठक्करबाट चितवनमा एकको मृत्यु

चितवन, कात्तिक २१  : पूर्वी चितवनको खैरहनी– १ तरकारी चोकमा अज्ञात सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

गएराति करिब १२ बजे सडकमै गम्भीर घाइते अवस्थामा भेटिएका एक व्यक्तिको उपचारका लागि भरतपुरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

करिब ५०/५५ वर्षको जस्तो देखिने मृतकको पहिचान खुल्न सकेको छैन।

उनीसँगै एउटा साइकल र हेलमेट पनि भेटिएकाले साइकल यात्री हुनसक्ने चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। उनलाई ठक्कर दिने सवारी साधनको पहिचानसमेत हुन सकेको छैन।