बाम गठबन्धनको विस्तारित बैठक

चितवन, २० कात्तिक । वाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटि चितवन क्षेत्र नम्बर ३ ‘क’ को विस्तारित बैठकले वाम गठबन्धनलाई विजयी गराउनको लागि वडा तहदेखि नै निर्वाचन परिचालन कमिटि निर्माण गर्ने भएको छ । संयुक्त निर्वाचन परिचालन कमिटि क्षेत्र नम्बर ३ ‘क’को सोमबार भरतपुर महानगरपालिका वडा नम्बर २० चनौलीमा बसेको विस्तारित बैठकले उक्त क्षेत्रबाट दुवै पार्टीको जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने सदस्य, वडा अध्यक्ष, वडा ईन्चार्ज, क्षेत्रीय सदस्य, जिल्ला सल्लाहकार, जनवर्गीय संगठनका जिल्ला सदस्य रहने गरि निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरेको हो ।

कात्तिक २३ गतेदेखि वाम गठबन्धनको चुनावी अभियानलाई अगाडि बढाउनको लागि २२ गतेसम्म सबै वडामा संयुक्त निर्वाचन परिचालन कमिटि गठन गरिसकिने क्षेत्र नम्बर ३ का संयुक्त निर्वाचन परिचालन कमिटि संयोजक सूर्य सुबेदीले बताए । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ को क प्रदेशमा पर्ने १२ वटा वडाहरुमा संयुक्त निर्वाचन परिचालन कार्यालय समेत स्थापना गरिसकिने सुबेदीको भनाइ थियो । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उक्त क्षेत्रमा पर्याप्त युवा समेत परिचालन गरिने सुवेदीले बताए ।

कार्यक्रममा चितवन निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ का उम्मेदवार कृष्ण भुर्तेलले अब हुने निर्वाचनमा एक जना मतदाताले तीन वटा मतपत्रमा चार वटा छाप लगाउनुपर्ने बारेमा समेत मतदातालाई राम्रोसँग बुझाउनुपर्ने बताए । चितवन क्षेत्र नम्बर ३ क को विकासको लागि योजनाका साथ अगाडि बढ्ने उल्लेख गर्दै भुर्तेलले उक्त स्थानमा चार लेनको बाटो निर्माण गर्दै चीनसँग ठोरीलाई जोड्दै पर्यटक भित्र्याउने योजना रहेको बताए । गाजापुर, गोलाघाट, मेघौलीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै नारायणी नदीलाई व्यवस्थित गर्दै भैसालोटनसम्म मोटरबोट सञ्चालन गर्न सकिने कृष्ण भुर्तेलले बताए ।

चितवनको पश्चिमी क्षेत्रलाई वाइल्ड टुरीजम, खेलकुद पर्यटन, जल पर्यटन, शैक्षिक पर्यटनको माध्यमबाट तीव्र विकास गर्न सकिने भुर्तेलको भनाइ थियो । कार्यक्रम वामगठबन्धन संयुक्त निर्वाचन परिचालन कमिटि चितवन क्षेत्र नम्बर ३ क की संयोजक शारदा कुमालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्थानीय वाम कार्यकर्ताहरुले दिएको सुझाव समेत लिएर अगाडि बढ्ने परिचालन कमिटिले जनाएको छ ।