बद्रीको विक्रम पाण्डेमाथि हमला, लालसलाम भन्दै गरे कडा भाषण (भिडियोसहित)

 

चितवन, कात्तिक १९ । शनिवार नेकपा माओवादीमा प्रवेश गरेका बद्री तिमिलसिनाले राप्रपा उम्मेदवार बिक्रम पाण्डेको कडा आलोचना गरेका छन ।

प्रचण्ड विजय अभियानको उदघाटन समारोहमा बोल्दै माओवादी प्रवेश पूर्व राप्रपा चितवनका जिल्ला अध्यक्ष समेत रहेका तिमल्सिनाले राप्रपा उपाध्यक्ष तथा चितवन–३ का उम्मेदवार पाण्डेलाई पाखण्डी र बेईमान नेताको संज्ञा दिए ।

“पाण्डेले झूटको खेती गरिरहेका छन ।” तिमिल्सिनाले भने, “यो गरे, त्यो गरे भनेर जनतालाई ढाँटेका छन । यथार्थमा उनले जनतासँग हात मिलाएपछि समेत घीन मान्ने गर्छन ।”

हिजो मात्र माओवादी केन्द्रमा प्रवेश गर्नु भएको राप्रपा प्रजातान्त्रिक चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाको सशक्त सम्बोधन किन विक्रम पाण्डेलाई हराउन प्रचण्डलाई जिताउन माओवादी केन्द्रमा प्रवेश गर्नु भयो हेरौ लाईभ भिडियो :-

Publié par Prakash Dahal / प्रकाश दाहाल sur dimanche 5 novembre 2017

 

मञ्चमा सम्बोधनका लागि बोल्न सुरु गर्दा लालसलामको अभिवादनबाट सुरु गरेका तिमिल्सिनाले राप्रपाले फैलाईएको भ्रम जनताले बुझीसकेको बताए । अबको निर्वाचनपछि राप्रपाको नाम समेत नरहने गरी हराउने उनले दावी गरे ।

निकै कडा र आक्रामक भाषण गरेका नेता तिमिल्सिनाले कुनै स्वार्थवस माओवादीमा प्रवेश नगरेको बताए । राप्रपाका ५० प्रतिशत नेता कार्यकर्ता आफूसँग रहेको दावी गर्दै उनले बाँकि ३० प्रतिशत समेत छिट्टै भ्रमबाट मुक्त हुने बताए ।

“मलाई मदिरा सेवन गरेर पार्टी कार्यालयमा अराजकता गरेको आरोपमा निष्काशन गरेको घटिया आरोप बिक्रम पाण्डेले लगाएका छन । माओवादीमा प्रवेश गरेको भनेर कारवाही गरेको भन्ने साहस किन गर्न सकदैंनन तिनिहरु” उनले आक्रोशित स्वरमा भने, “लाज पचाएपछि जे बोले नि हुन्छ, यिनिहरुको वास्तविक चरित्र देख्दा म माओवादीमा आऊन ढीला पो गरेछु भन्ने लागि रहेको छ ।”

चितवनको बिकासमा निस्वार्थ भएर योगदान पूर्याएको हुंदा समग्र बिकासका लागि प्रचण्ड नै चाहिने आवश्यकताबोध गरेको उनले बताए ।

प्रचण्ड बिजयी अभियान आजबाट औपचारिक रूपमा सुरु भएको छ ।

समारोहमा एमाले नेता देवी ज्ञवालीले वाम एकता र समृद्दीका लागि विगतका सबै तीता कुरा विर्सेर प्रचण्ड विजयी अभियानमा लागेको बताए ।

.