माडीवासी आँखाको उपचारमा उदासिन, ३० जना बढीमा मोतियाविन्दु र भाईरल समस्या (भिडियोसहित)

चितवन, १२ कात्तिक । चितवनको माडी नगरपालिकावासीले आँखाको स्याहारमा उचित ध्यान दिन नसकेको पाइएको छ । माडीको आँखा शिविरमा मोतियाविन्दुका बिरामी बढी फेला परेको उपचारमा संलग्न बरिष्ठ आँखा रोग चिकित्सक डा. राजेन्द्रबहादुर श्रेष्ठले बताए ।

 

माडीमा मोतियाविन्दुको समस्या पहिलो स्थानमा रहेको पाइएको डा. श्रेष्ठको भनाइ छ । माडी क्षेत्रका स्थानियहरुले आखाँको विषयमा ध्यान दिदाँ मोतियाविन्दु पछि आखाँमा मासु पलाउने र आखाँको भाईरलहरु समेत धेरै देखिएको उनले बताए । साथै उनले माडीबाट निकुञ्जको दश किलोमिटर लामो जंगल क्षेत्र पार गरेर भरतपुर पुग्नु पर्ने झन्झटले गर्दा माडीवासी आँखाको उपचारमा उदासिन रहँदै आएकोले आँखाको समस्या भएका बिरामी धेरै भेटिएको समेत बताए ।


आइ क्याम्प फर चितवन अभियानले आजै मात्र ३० जना भन्दा बढी विरामीहरुमा मोतियाविन्दु भएको पाइएको उनले बताए । माडीको बघौडा अस्पतालमा भएको निःशुल्क आँखा शिविरमा चार सय जनाभन्दा बढीले आँखा परीक्षण गराई आवश्यकता अनुसार औषधि र चश्मा निःशुल्क प्रदान गरेको अभियानका संयोजक एवं सपोर्ट एण्ड केयर पुनस्र्थापना केन्द्र रत्ननगरका अध्यक्ष राजबन्धु गौतमले जानकारी दिए ।

जर्मनी स्वयंसेवीहरुको सहयोगमा सपोर्ट एण्ड केयर पुनस्र्थापना केन्द्र रत्ननगर, नेशनल आँखा अस्पताल भरतपुर, सामुदायिक रेडियो माडी, बघौडा अस्पताल र माडी नगरपालिकाको समन्वयमा शिविर आयोजना गरिएको हो । चितवनका विभिन्न आठ स्थानमा अभियान अन्तर्गत निःशुल्क आँखा शिविर आयोजना भइरहेको जर्मनी नागरिक क्याट्रियाले बताइन् । अभियान अन्तर्गत रत्ननगर नगरपालिकाभित्रका चार ठाउँमा भएको आँखा शिविरबाट आठ सय जनाभन्दा बढी लाभान्वित भइसकेका छन् ।
चितवनको सदरमुकाम भरतपुरबाट ४० किलोमिटर दक्षिणमा रहेको माडीमा आँखा अस्पताल नहुँदा माडीवासीले आँखाको उपचारमा समस्या भोग्दै आएका छन् ।

शिविरमा उपचारका लागि आउनेहरुमा अधिकांश वृद्धवृद्धा थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि नब्बे वर्षसम्मका वृद्धवृद्धाले शिविरबाट स्वास्थ्य लाभ गरेका थिए । शिविरमा पत्ता लागेका मोतियाविन्दुका बिरामीको शल्यक्रिया नेशनल आँखा अस्पताल भरतपुरमा निःशुल्क रुपमा गरिने डा.श्रेष्ठले जानकारी दिए ।
सामुदायिक रेडियो माडीका अध्यक्ष सूर्यप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न आँखा शिविरको उद्घाटन माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजीमहतोले गरेकी हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर महतोले आँखा अस्पतालको अभावमा उपचार सेवाबाट बञ्चित हुनु परेका माडीवासीलाई आँखा शिविरले लाभ प्रदान गर्ने बताइन् ।