निरन्तर चर्चामा देवी ज्ञवाली ज्ञवालीसँग भेटेपछि प्रचण्ड ढुक्क

दिपेन्द्र अधिकारी
चितवन, ९ कात्तिक। भरतपुर महानगरपालिकाकाको स्थानीय तह चुनावमा प्रचण्ड पुत्री रेणु दाहालसँग भिडन्त हुने पक्का भएदेखि नै देवी ज्ञवालीको राष्ट्रियस्तरमा निकै चर्चा रह्यो । लगत्तै घरदैलो कार्यक्रम, सुरूवाती अवस्थामा ज्ञवालीको पक्षमा देखिएको चुनावी परिणाम, मतपत्र च्यातिएको घटना, पुनःमतदान र अन्तत रेणु दाहालको पक्षमा आएको चुनावी परिणामले ज्ञवालीलाई हिट बनाइ रह्यो ।
मंगलबार मात्रै प्रचण्डसँग ओली निवास बालकोटमा भेट गरेपछि ज्ञवाली पुन चर्चामा छन् । बाम गठबन्धनको समाचार बाहिरिएसँगै यसको स्वागत गरेका ज्ञवालीलाई केही अनलाइन माध्यमले कांग्रेसमा प्रवेश गर्दै ज्ञवाली, ज्ञवाली नै प्रचण्डको बाधक जस्ता समाचारले राष्ट्रिय राजनीतिमा चर्चा पाइरह्यो । यसको खण्डनका लागि आमसञ्चारका माध्यम र सामाजिक सञ्जालको ज्ञवालीले धेरै गर्नु प¥यो ।
ज्ञवालीको फेसबुक स्टाटस
ओलीलाई भेट्न राजधानी जाँदै गर्दा बाटोमै ज्ञवालीले एउटा स्टाटस सामाजिक सञ्जालमा पोष्ट गरे । दुई दिनअघि लेखिएको उक्त स्टाटसमा उनले आफू पार्टीको इमान्दार सिपाही भएकाले पार्टी निर्णय अनुसार हिड्न तयार रहेको र प्रचण्डलाई चितवनमा स्वागत गरी जिताउन समेत आफू अग्र पंक्तिमा रहने भनेपछि उनी फेरी चर्चामा रहे ।
‘देश, जनताको हितमा हुने कनै पनि सकारात्मक कामलाई व्यक्तिगत लाभ हानिसँग जोड्ने काम देवी ज्ञवालीबाट हुदैन, उनले लेखेका छन्, ‘चितवनमा पुष्पकमल आउनुहुन्छ भने उहाँलाई जिताएर पठाउने दायित्व हाम्रो काँधमा आउनेछ र उक्त जिम्मेवारी हामीले पूरा गरेरै छोड्छौ ।’
भुल्दै भरतपुर पीडा
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट एमालेको उम्मेदवार बनेका देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट विजयी गराउनु आफ्नो जिम्मेवारी भएको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका उनलाई प्रचण्डले समेत भेटेका छन् । बुधबार ओलीलाई भेट्न बालकोट पुगेका ज्ञवाली र सोही समयमा ओली निवास पुगेका प्रचण्डबीच पनि भेटवार्ता भएको थियो ।
बालकोटमा ओली–ज्ञवाली तथा ओली–प्रचण्ड र ज्ञवालीबीच छुट्टाछुट्टै भेटवार्ता भएको एमाले जिल्ला नेता रामप्रसाद न्यौपानेले बताए । भेट वाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर–३ को उम्मेदवार बन्ने तयारीमा रहेका प्रचण्डलाई जिताउने विषयमा छलफल केन्द्रित भएको उनले बताए ।
ज्ञवाली भेटेपछि प्रचण्ड ढुक्क
चितवन क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने पक्का भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञवालीसँगको भेटपछि आफू ढुक्क भएको प्रतिक्रिया दिएको भेटमा सहभागी नेता रामप्रसाद न्यौपानेले बताए ।
सामाजिक सञ्जाल र अनलाइन समाचार माध्यममा आएका सबै कुरा भ्रम मात्र भएको ज्ञवालीले विश्वास दिलाउनुका साथै चुनावी अभियानमा अग्र पंक्तिमा रहेर सहयोग गर्ने बचन दिएपछि प्रचण्ड ढुक्क भएका हुन् । चितवन पोष्टमा खबर छ ।