माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता

काठमाडौं, २५ असोज । नेकपा माओवादी केन्द्र र नेकपा संयुक्त बीच बुधबार पार्टी एकता भएको छ । बुधबार दिउँसो बानेश्वरको बुद्धनगर पार्टी प्यालेसमा पार्टी एकता कार्यक्रम सम्पन्न भएको हो । पार्टी एकताको संयुक्त वक्तव्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा ९संयुक्त० का अध्यक्ष गणेश साहले हस्ताक्षर गरे ।
पार्टी एकता कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको बृहत् एकता र ध्रुवीकरणमार्फत् नेपालमा सामाजवादी क्रान्ति सम्पन्न गर्ने र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने जिम्मेवारी नेपालका कम्युनिष्टहरुको काँधमा आएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘हामीले एकता र ध्रुवीकरणको नयाँ प्रक्रिया आरम्भ गरेका छौं, यो हाम्रा लागि निकै खुसीको कुरा हो । हामी कम्युनिष्टहरुको एकता र ध्रुवीकरणमार्फत् नेपालमा समाजवादी क्रान्ति र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने ठाउँमा छौं, त्यो जिम्मेवारी हामीले पुरा गर्नैपर्छ ।
’‘माओवादीले कहिल्यै पनि घिसेपिटे तरीकाले सोचेन, एउटा नयाँ सोंच र क्रमभङ्गका रुपमा हामी अहिलेको ठाउँमा आइपुगेका छौं’, अध्यक्ष प्रचण्डले भने , ‘कतिपय कम्युनिष्ट नेता र अग्रजहरु मन्दिरमा घण्टी बजाएझैं एकै ठाउँमा बसिरहनु भएको छ, हामीले त्यसो गरेनौं । निरन्तरतामा क्रमभङ्ग गरेर मात्र क्रान्ति अगाडि बढ्छ, समाज अघि बढ्छ, हामीले त्यही क्रमभङ्गलाई आत्मसात गरेका छौं, नयाँ पार्टी बनाएर, क्रान्तिको नयाँ सिद्धान्त विकसित गरेर समाजवादी क्रान्ति गर्ने सोचका साथ फेरी निरन्तरतामा क्रमभङ्ग गरेका छौं ।’
एकता कार्यक्रममा नेकपा (संयुक्त) का अध्यक्ष गणेश साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको पार्टी क्रान्तिकारी विद्रोहको नेतृत्व गरेको पार्टीसँग एकता हुँदा कम्युनिष्ट आन्दोलनमा नयाँ गति पैदा हुने बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, दीनानाथ शर्मा, नेकपा (संयुक्त) का नेता सुनिल मानन्धर लगायतले बोलेका थियो ।
एकतासँगै नेकपा (संयुक्त) रहेका तीन सांसद पनि माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् । एकता कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४०० जना नेता, कार्यकर्ता समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एकताको घोषणापूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा ९संयुक्त० का अध्यक्ष गणेश साहले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए ।