चितवनको रत्ननगरमा पहिलो पटक फेशन शो (फोटो सहित)

रत्ननगर, चितवन, १२ असोज ।पूर्वी चितवनको रत्ननगरमा पहिलो पटक “दशैं फेशन शो एण्ड लाईभ म्युजिक फिस्टा २०१७” आयोजना गरिएको थियो । स्टाइल लफ्ट फेशन डिजाइनिङ्ग कलेज रत्ननगरको आयोजनामा सौराहा चोकमा भएको कार्यक्रममा अनुभवी डिजाइनरहरुले तयार गरेको फेशन अनुभवी मोडलहरुबाट प्रस्तुत गरिएको थियो ।


विजया दशमीको अवसर पारेर आयोजित सो कार्यक्रममा ब्राइडर राउण्ड, फ्युजन राउण्ड, वेष्टर्न गाउन राउण्ड र फोर सिक्वेन्स राउण्डमा फेशन शो गरिएको थियो । फेशन शोको अतिरिक्त बलराम सरकारको जादु, एक खुट्टाले नृत्य गर्ने अञ्जना गुरुङ्गको नृत्य, सुजा कुवरले नृत्य समेत कार्यक्रममा प्रस्तुत गरेका थिए । बुधबार आयोजित कार्यक्रम कलेजका अध्यक्ष कर्म डण्डुप लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक एवम् कार्यक्रम संयोजक बादल खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


सो कार्यक्रमका प्रमुख अतिथि शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, विशिष्ठ अतिथि कालिका नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मी, पदमपुर शिक्षा निकेतनका प्रिन्सिपल नविन थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुुहुने व्यक्ति तथा संघ संस्था र कार्यक्रममा सहभागी कलाकारहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।