डा.किसुनको खुसीहरुको वनवास सार्वजनिक (फोटोफिचर)

आनन्द पोखरेल
चितवन, ५ असोज । डाक्टर कृष्ण पौडेल किसुनले लेखेका खुसीहरुको वनवास कविता संग्रहको बिहीबार सार्वजनिकीकरण गरिएको छ । चितवन साहित्य परिषद्को आयोजनामा खुसीहरुको वनबासको सार्वजनिकीकरण कविता वाचन एवम् संवाद कार्यक्रम गरिएको हो ।


किसुनको कविता संग्रहको बारेमा समालोचक एकनारायण पौडेल र उदय अधिकारीले समीक्षा गरेका थिए । किसुनको कविता संग्रह सरल र सहज तरिकाले लेखिएको उल्लेख गर्दै एकनारायण पौडेलले उक्त संग्रहमा समाहित कविताहरुले यथार्थता झल्काएको बताए । समसामयिक विषय वस्तुलाई कवितामा संग्रह गरिएको पौडेलको भनाइ थियो ।


कविता संग्रहको समीक्षा गर्दै समालोचक उदय अधिकारीले डाक्टर पौडेलले आफ्ने पेशाको क्रममा देखिएको भोगेको विषय वस्तुलाई समेत कविताको माध्यमबाट बाहिर ल्याएकोले पाठकको मन छुन सफल हुने बताए । बिरामी भएर अस्पताल आउने व्यक्तिहरुको कारुणिक कथालाई समेत कविताको माध्यमबाट पाठक सामु ल्याउन किसुन सफल भएका अधिकारीको भनाइ थियो । डाक्टर पौडेलको बिहीबार सार्वजनिक गरिएको कविता संग्रहबाट स्रष्टा किसुन, साहित्यकार टिकाराम पोखरेल, डाक्टर प्रितम पाण्डे, डाक्टर भारती शर्मालगायतले कविता वाचन गरेका थिए ।
चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा भएको कविता संग्रह सार्वजनिकीकरणमा निबन्धकार रामबाबु घिमिरे प्रमुख अतिथि रहेका थिए ।