प्रदेश नम्बर २ मा आज विहान ७ बजेबाट मतदान,विदेशी पर्यवेक्षण

जनकपुर, २ असोज । लामो अन्योललाई चिर्दै प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा मतदान स्थलमा गएर उनीहरूले मतदान गर्नेछन् । यो निर्वाचनले ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि छान्नेछन् ।
निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् । मतदानका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता योग्य छन् ।सुरक्षा दृष्टिले संवेदनशील मानिएको यो प्रदेशमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ ।२ नम्बर प्रदेशका प्रहरी प्रमुख विजयलाल कायस्थ भन्छन्, ‘निर्वाचनको समग्र पक्षलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ ।’ आजको अन्नपुर्णपोष्टमा खबर छ। 

विदेशीलाई पर्यवेक्षण
दुई नम्बर प्रदेशको निर्वाचन पर्यवेक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोगसहित केही विदेशी प्रतिनिधिले जनकपुर, वीरगन्जसहितका ठाउँको पर्यवेक्षण गर्ने भएका छन् ।
दुई नम्बर प्रदेशका प्रहरी प्रमुख कायस्थले जपानी दूतावास, ब्रिटिस दूतावाससहित विदेशी नियोगका प्रतिनिधि मधेसको निर्वाचन पर्यवेक्षणका लागि आएको जानकारी दिए ।
यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विदेशी नियोगलाई पर्यवेक्षणको अनुमति दिइएको थिएन ।