उपप्रधानमन्त्री कृष्ण बहादुर महरा आज चीन जाँदै

काठमाडौं ,२१ भदौ। सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज चीन भ्रमणमा जाने भएका छन् । चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा महरा ६ दिने औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जान लागेका हुन् ।

नयाँ संविधान घोषणापछि चीन भ्रमणमा जाने महरा दोस्रो परराष्ट्रमन्त्री हुन् । यसअघि केपी ओली नेतृत्व सरकारका तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनको ६ दिने औपचारिक भ्रमण गरेका थिए ।परराष्ट्र मन्त्रालयले द्विपक्षीय हित प्रवर्द्धनका लागि महरा चीन भ्रमणमा जान लागेको जनाएको छ ।

महराले आफ्नो ६ दिने औपचारिक भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, महराको भ्रमणमा ओवीओआर, रेल्वे कनेक्टीभीटीलगायत विषयमा छलफल हुनेछ । महराले भ्रमणका क्रममा नेपाल-चीन सीमामा रहेका सीमा नाका खोल्नेलगायत विषय समेत उठाउने तयारी गरेका छन् ।

महराले गोन्जाओमा स्थापना भएको महावाणिज्य दूतावास कार्यालयको औपचारिक उदघाटन गर्ने कार्यक्रमसमेत तय भएको छ । चीनको गोन्जाओमा ६ महिनाअघि दोस्रो महावाणिज्य दूतावास स्थापना भएको थियो । चीनको स्वशाषित क्षेत्र ल्हासामा यसअघि महावाणिज्य दूतावास स्थापना भएको थियो ।