८८ किलो सुनका मालिक चिनियाँ व्यापारीको क्षेत्रपाटीमा होटल

काठमाडौं ,१९ भदौ । राजधानीको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पान विइ मिङ भएको खुल्न आएको छ । सुनसहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीको वयानको आधारमा प्रहरीले सुन मालिक मिङ रहेको पत्ता लगाएको हो ।महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्कर गर्ने चिनियाँ व्यापारी भएको जानकारी दिँदै तस्कर गर्नेको नाम अनुसन्धान पछि सार्वजनिक गर्ने बताए ।

प्रहरीका अनुसार मिङले चार वर्षदेखि क्षेत्रपाटीमा काठमाडौं वन होटल संचालन गर्दै आएका छन् । चीन बसेर नेपालमा होटल संचालन गर्दै आएका उनलाई पत्नी याङ वेनले पनि सघाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नेपाल भन्दा बढी समय चीनमा बस्ने र हाल चीनमा रहेका उनीहरुले होटल संचालन गरेर ४ वर्षदेखि सुन तस्कर गर्ने गरेको प्रहरीको दाबी छ ।